३३ लाख रुपैयाँ घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई ३३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

ठेक्का सम्झौताअनुसार बाँकी किस्ता तथा मोबिलाइजेसन फण्डको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र बाँकी कामसमेत सहज बनाइदिने भन्दै घुस मागेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले प्रमुख प्रशासकीय अधिकृत घिमिरे र गुड नेवर्स इन्टरप्राइजेज प्रालि, कोटेश्वर काठमाडौंका सञ्चालक वरुण ढुंगेललाई सेवाग्राहीबाट घुसबापत लिइसकेको ३३ लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो।

उनीहरूलाई कात्तिक १६ गते भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट पक्राउ गरिएको आयोगले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि घुस तथा रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ। उनीहरूमाथि विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।