काठमाडौं- तिहार पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा, बबरमहलले सुनको असर्फी तथा चाँदीका मोहर बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकले २.५ ग्रामका सुनका असर्फी र १० ग्रामका चाँदीका मेडालियन बिक्री गर्न लागेको हो।
महाशाखाले जारी गरेको सूचनाअनुसार १९ र २० गते दुई दिन सुनको असर्फी तथा चाँदीका मोहर बिक्री गरिनेछ। प्रति व्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी तथा १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मोहर एक–एक थान खरिद गर्न पाइने व्यवस्था गरिएको छ। एक व्यक्तिले बढीमा दुई थान मात्र खरिद गर्न सक्नेछन्।
बिक्री बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ। मौज्दात रहेसम्म पहिलो आउनेलाई प्राथमिकताका आधारमा बिक्री गरिने महाशाखाले जनाएको छ। असर्फी तथा मोहर खरिद गर्न नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित व्यक्ति स्वयं उपस्थित हुनुपर्नेछ।
खरिदकर्ताले नगद वा क्यूआर मार्फत भुक्तानी गर्न सक्नेछन्। सुनको असर्फी तथा चाँदीका मोहरको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण हुने भएकाले मूल्य निर्धारण भएपछि मात्र बिक्री प्रक्रिया सुरु हुने सूचनामा उल्लेख छ। तिहारमा लक्ष्मीपूजा तथा धार्मिक प्रयोजनका लागि सुनको असर्फी र चाँदीका मोहरको माग हुने भएकाले राष्ट्र बैंकले हरेक वर्ष यस्ता सामग्री बिक्री गर्दै आएको छ।





About Us
प्रतिक्रिया