काठमाडौं – वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा धादिङको धुनीबँेसी नगरपालिका–१ की आशिका सिम्खडा, उदयपुरको बेलका नगरपालिका–२ का विष्णु खत्री, सिन्धुलीको तीनपाटन गाउँपालिका–५ का दिनेश पाख्रेन तामाङ र गोरखाको बारपाक गाउँपालिका–४ का ३८ राजेश बराम रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सिम्खडाले बेलायत (युके) पठाइदिने भन्दै रु सात लाख ५० हजार, खत्रीले माल्टा पठाइदिने भन्दै रु छ लाख, तामाङले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै रु दुई लाख र बरामले सिङ्गापुर पठाइदिने भन्दै रु १५ लाख ५० हजार रकम लिएका थिए।
विदेश पठाइदिने भन्दै रकम लिएपछि उनीहरूले पीडितलाई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेका चारै जना माथि थप अनुसन्धान तथा आवश्यक कारबाहीका भइरहेको प्रहरीले जनाएको छ।





About Us
प्रतिक्रिया