काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै सरकारको स्वेच्छाचारिता र गैरकानुनी गतिविधिले सीमा नाघेको आरोप लगाएका छन्। सभापति थापाले प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हुने हस्तक्षेपविरुद्ध कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिए।
कात्तिक १५ गते आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनालाई गम्भीर आपत्तिजनक भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्। समाचार प्रकाशित भएको विषयलाई लिएर प्रहरी सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटनाले शाही शासनकालमा मिडिया हाउसमा सुरक्षाकर्मी प्रवेश गरेको घटनाको स्मरण गराएको सभापति थापाले बताए।
नागरिक दबाबपछि पक्राउ परेका पत्रकारहरू रिहा भए पनि घटनालाई केही पत्रकार पक्राउ परेको र छुटेको विषयमा मात्र सीमित गर्न नहुने उनको भनाइ थियो। यसले राज्यले आफ्नो अधिकार, नागरिकको मौलिक हक, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई कसरी बुझिरहेको छ भन्ने गम्भीर प्रश्न उठाएको उनले बताए।
‘केही समाचार प्रकाशित भएको आधारमा प्रहरी केही मिडिया हाउसमा प्रवेश गरेर पत्रकारहरूलाई गिरफ्तार गरेको हामीले देख्यौँ। यो घटनाले शाही कालको याद दिलायो। विरोध र प्रश्न उठेपछि पत्रकार साथीहरू रिहा हुनुभयो। केही साथीहरू पक्राउ पर्नुभयो, छुट्नुभयो, सकियो अब रु यहाँ सकिँदैन र सकिनु हुँदैन भन्ने नेपाली कांग्रेसको धारणा हो,’ सभापति थापाले भने।
सभापति थापाले प्रहरी राजनीतिक तथा प्रशासनिक नेतृत्वको निर्देशनबिना सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको भन्नेमा विश्वास गर्न कठिन रहेको टिप्पणी गरे। सरकारको यस्तो प्रवृत्तिलाई सामान्यीकरण नगर्न नागरिक समाज, सञ्चारमाध्यम र राजनीतिक दलहरूलाई उनले आग्रह गरे।






About Us
प्रतिक्रिया