डीडीसीमा १२ करोडभन्दा बढी अनियमितता गरेको आरोपमा तत्कालीन महाप्रबन्धकसहित ८ जना पक्राउ


काठमाडौं – सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा आर्थिक अनियमितता गरी संस्थानलाई १२ करोड रुपैयाँभन्दा बढी नोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा डीडीसीका तत्कालीन महाप्रबन्धक तथा हाल प्रशासन तथा व्यवस्थापन विभाग प्रमुखका रूपमा कार्यरत सञ्जीव झा रहेका छन्।

त्यस्तै, तत्कालीन सिम्ले चिस्यान केन्द्रका इन्चार्ज विजयकुमार यादव, भक्तपुर चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज मनहरी शर्मा र चनौली चिस्यान केन्द्रका तत्कालीन इन्चार्ज रामकेवल राय पनि पक्राउ परेका छन्। यसैगरी, बागमती धुलो दूध कारखाना हेटौँडामा कार्यरत भरपाई पदका कर्मचारी जितेन्द्रकुमार यादव, नवलपुर–गरुडा चिस्यान केन्द्रका कर्मचारी नवीन राय यादव, माडी चिस्यान केन्द्रमा कार्यरत शिवनन्दन राय र माडी चितवनका चिस्यान केन्द्र इन्चार्ज विखबहादुर भण्डारी पक्राउ परेको सीआईबीले जनाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार संस्थानका तत्कालीन महाप्रबन्धक तथा उच्च तहका अधिकारी, चिस्यान केन्द्रका प्रमुख र कर्मचारीहरूको मिलेमतोमा पूर्वयोजनाअनुसार विभिन्न समूह गठन गरी संगठित रूपमा आर्थिक अनियमितता गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार उक्त कार्यबाट संस्थानलाई प्रत्यक्ष रूपमा १२ करोड १३ लाख ४३ हजार ५३० रुपैयाँ बराबरको आर्थिक नोक्सानी पुर्‍याई सोही रकम गैरकानुनी रूपमा लाभ लिएको प्रारम्भिक रूपमा पुष्टि भएको छ।

घटनामा संलग्न रहेको आरोपमा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत आपराधिक विश्वासघात तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ। काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर २०८३ साल कात्तिक १३ गते विभिन्न स्थानबाट आठ जनालाई पक्राउ गरिएको हो।