नेपालमा नवीनतम वित्तीय उपकरण भित्र्याउन बोर्डद्वारा ७ सदस्यीय उच्चस्तरीय समिति गठन


काठमाडौं – नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय र लगानीकर्तामैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ वित्तीय उपकरणको विकास तथा सञ्चालनका लागि सात सदस्यीय समिति गठन गरेको छ। बोर्डका कायममुकायम कार्यकारी निर्देशकको संयोजकत्वमा आज बोर्डले ‘नेपालमा नवीनतम वित्तीय उपकरण विकास तथा सञ्चालन व्यवस्थापन’ सम्बन्धी समिति गठन गरेको हो।

सो समितिमा नेपाल राष्ट्र बैंकबाट निर्देशक स्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रतिनिधि तथा मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिसहित सात सदस्य रहेका छन्। बोर्डले पुँजी बजारमा शेयर कारोबारमा मात्र निर्भरता घटाउँदै विभिन्न प्रकारका वित्तीय उपकरणको कारोबार विस्तार गर्न आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार विकास गर्ने उद्देश्यले समिति गठन गरेको हो।

समितिलाई नेपालको धितोपत्र बजारमा शेयर कारोबारमा मात्रै सीमित नराखी कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र, पूर्वाधार ऋणपत्र, एक्सचेन्ज ट्रेडेड फन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट, इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट इन्भाइट तथा चरणबद्ध रूपमा डेरिभेटिभ वित्तीय उपकरणहरूको कारोबार गर्न सक्षम बहु आयामिक बजारका रूपमा विकास गर्ने र सोका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधारको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु समितिको कार्यशर्त रहेको जनाएको छ।

बोर्डले सार्वजनिक गरेको ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ मा बजारको गहिराइ तथा विविधीकरणलाई समेत प्राथमिकतामा राखेको छ। मार्गचित्रअनुसार कर्पोरेट बन्ड मार्केट, ग्रिन बन्ड, म्युनिसिपल बन्ड, ईटीएफएस, आरईआईटीएस, इन्भाइट तथा डेरिभेटिभ मार्केटको चरणबद्ध विकास गर्ने योजना अघि सारेको छ।

उक्त समितिको पहिलो बैठक आज बसी यस्ता उपकरणहरूको अवधारणा, कानुनी तथा बजार संरचना र अन्य आवश्यक प्राविधिक तयारी सम्बन्धी कार्य अगाडि बढेको बोर्डले जनाएको छ। यससँगै नेपालको धितोपत्र बजारमा नयाँ उपकरणहरूको विकास तथा सुरुवात भई धितोपत्र बजारको बहु आयामिक विकासमा टेवा पुग्ने बोर्डले धारणा रहेको छ।