बाइनान्समा ६ अर्ब डलरभन्दा बढीको ह्याकिङले अन्तराष्ट्रिय क्रिप्टो सुरक्षा प्रणालीमाथि गम्भीर प्रश्न


काठमाडौं – विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट ६ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरी भएको घटनालाई अहिलेसम्मकै ठूलो साइबर ह्याकिङमध्ये एक मानिएको छ। घटनामा संलग्न ह्याकरहरूको पहिचान भने अझै खुल्न सकेको छैन।यसअघि भएका अधिकांश ठूला क्रिप्टोकरेन्सी चोरीका घटनामा अनुसन्धानकर्ताहरूले उत्तर कोरियाली ह्याकर समूहलाई जिम्मेवार ठहर्‍याउँदै आएका छन्। विशेषगरी कुख्यात ‘लाजारस ग्रुप’ (ट्रेडर ट्रेटर) माथि विभिन्न साइबर आक्रमणमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

बाइनान्समाथिको पछिल्लो आक्रमणमा पनि अनुसन्धानकर्ताहरूको शंका उत्तर कोरियातर्फ सोझिएको छ। यद्यपि, यस घटनामा उत्तर कोरियाली ह्याकरहरूको संलग्नता रहेको पुष्टि गर्ने ठोस प्रमाण सार्वजनिक भइसकेको छैन। उत्तर कोरियाली ह्याकर समूहहरूले विश्वभरका वित्तीय संस्था तथा क्रिप्टोकरेन्सी प्लेटफर्मलाई निशाना बनाउँदै ठूलो रकम चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ।

यस्ता गतिविधिबाट प्राप्त रकम उत्तर कोरियाले आफ्नो आर्थिक तथा सैन्य कार्यक्रमका लागि प्रयोग गर्ने गरेको समेत विभिन्न अनुसन्धानमा दाबी गरिएको छ। तर उत्तर कोरियाले आफू कुनै पनि गैरकानुनी साइबर गतिविधिमा संलग्न नरहेको दाबी गर्दै आएको छ। बाइनान्समा भएको भनिएको यो ठूलो साइबर आक्रमणले क्रिप्टोकरेन्सी बजारको सुरक्षा प्रणाली, डिजिटल सम्पत्तिको संरक्षण र अन्तर्राष्ट्रिय साइबर अपराध नियन्त्रणमाथि गम्भीर प्रश्न उठाएको छ। घटनाको वास्तविक योजनाकार पत्ता लगाउन अनुसन्धान जारी रहेको छ।