कम्पनीलाई कर, शुल्क र जरिवाना मिनाहाको म्याद पुस मसान्तसम्म थप


काठमाडौं – कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीलाई कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहासम्बन्धी व्यवस्था लागू हुने म्याद २०८३ पुस मसान्तसम्म थप गरिएको छ। यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद २०८३ कात्तिक ९ गतेको निर्णयअनुसार बढाएर पुस मसान्तसम्म पुर्‍याइएको हो।

सम्बन्धित कानुनले तोकेको समयभित्र विवरण पेस नगरेका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना नबुझाएका कम्पनीले यो सुविधा पाउनेछन्। उक्त व्यवस्थाअनुसार कारोबार जारी राख्न वा कम्पनीको दर्ता खारेज गर्न चाहने कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानुनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर बुझाउनुका साथै आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेस गर्नुपर्नेछ।

तोकिएको समयभित्र आवश्यक प्रक्रिया पूरा गर्ने कम्पनीलाई त्यसअघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने व्यवस्था गरिएको छ। म्याद थप भएसँगै लामो समयदेखि विवरण पेस नगरेका, नवीकरण नगरेका तथा आर्थिक दायित्व पूरा गर्न बाँकी रहेका कम्पनीलाई कानुनी प्रक्रिया पूरा गर्ने थप अवसर प्राप्त भएको छ। सम्बन्धित कम्पनीले तोकिएको समय सीमाभित्र आवश्यक प्रक्रिया पूरा गरी यो सुविधाको लाभ लिन सक्नेछन्।