२ अर्ब १६ करोडभन्दा बढीको क्रिप्टो कारोबार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ


काठमाडौं – दुई अर्ब १६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–१२ का २८ वर्षीय सुनिलकुमार यादव रहेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार नेपाल राष्ट्र बैंकको नीति तथा प्रचलित कानुनविपरीत विभिन्न विद्युतीय माध्यम र अनलाइन बेटिङ एप्लिकेसनमार्फत सट्टेबाजी तथा अवैध क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले सूक्ष्म निगरानी तथा प्राविधिक विश्लेषणपछि यादवलाई पक्राउ गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषासँगको समन्वयमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। प्रहरीका अनुसार यादवले बाइनान्स आईडीमार्फत २ करोड ६९ लाख ९१ हजार ३८८९५० अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी (यूएसडीटी) कारोबार गरेको आरोप छ। उक्त कारोबारको नेपाली रुपैयाँमा मूल्य करिब २ अर्ब १६ करोड १ लाख २० हजार ८२१ रुपैयाँ रहेको जनाइएको छ।

यादवविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ (जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने) तथा दफा २६२(क) (१)(अभौतिक मुद्राको प्रयोग गर्न नहुने) सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उनलाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।