क्रिकेटको उत्सव एनपीएलमा सट्टेबाजीको जोखिम : १ हजार १२५ जना सुरक्षाकर्मी परिचालन

मैदानमा चौका र छक्काको रोमाञ्च, मैदानबाहिर रातारात धनी बनाउने प्रलोभन


काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु भएसँगै क्रिकेटको लोकप्रियतालाई दुरुपयोग गरेर अवैध सट्टेबाजी, अनलाइन ठगी र म्याच फिक्सिङ गर्ने जोखिम बढेको छ। प्रतियोगिताको सुरक्षा र निष्पक्षतामाथि चुनौती आउन नदिन प्रहरीले १ हजार १२५ जना सुरक्षाकर्मी परिचालन गरी प्रविधिदेखि साइबर निगरानीसम्मलाई तीव्र बनाएको छ। प्रहरीले एनपीएलमा यस्ता अवैध गतिविधि हुन नदिन कडा सुरक्षा योजना बनाएको नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्ले बताउँछन्। सुरक्षाका लागि ड्रोन, के–९, सीसीटीभी क्यामेरालगायत प्रविधिको प्रयोग गरिएको छ। साथै, सादा पोसाकमा समेत प्रहरी खटिएका छन्।

एनपीएलका क्रममा हुन सक्ने म्याच फिक्सिङ, स्क्यामिङ तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा पारिएको प्रवक्ता काफ्ले बताए। उनका अनुसार म्याच फिक्सिङ, अनलाइन ठगी तथा अन्य आपराधिक गतिविधि हुन नदिन विभिन्न टोली परिचालन गरिएको छ। साइबर ब्युरोले पनि निगरानी गरिरहेको छ भने सामाजिक सञ्जालमार्फत हुने गतिविधिलाई समेत प्रहरीले नजिकबाट नियालिरहेको छ। सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन विभिन्न तहका प्रहरी अधिकारीको नेतृत्वमा टोलीहरू खटाइएको छ। एसएसपी दिलीप घिमिरेको नेतृत्वमा सुरक्षा व्यवस्थापनसम्बन्धी जिम्मेवारी रहेको र एसपी दानबहादुर थापा ‘किलो टु’ अपरेसन अफिसरका रूपमा खटिएको उनले बताए। ओस्कर वानलगायतका टोलीसमेत परिचालन गरिएको उनी बताउँछन्।

कात्तिक ९ गतेबाट सुरु भएको एनपीएल मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। क्रिकेटमा प्रत्येक बलको आफ्नै महत्त्व हुन्छ। एउटा चौका, छक्का, विकेट वा रनले खेलको दिशा बदल्न सक्छ। तर, खेलको यही अनिश्चिततालाई आर्थिक लाभका लागि दुरुपयोग गर्ने प्रयास भए खेलको वास्तविक प्रतिस्पर्धा नै जोखिममा पर्छ। खेल क्षेत्रमा हुने सबैभन्दा गम्भीर अपराधमध्ये म्याच फिक्सिङ पनि एक हो। यसमा प्रायः सट्टेबाजहरूले टिमका कप्तान, प्रशिक्षक वा धेरै जना खेलाडीलाई मोटो रकमको प्रलोभनमा पारेर आफ्नो नियन्त्रणमा लिन्छन्।

उनीहरूको निर्देशनअनुसार खेल कुन ओभरमा मोड्ने, कति रन वा गोल अन्तरले हार्ने भन्ने कुरा मैदानमा प्रवेश गर्नुअघि नै तय भइसकेको हुन्छ। नेपाल प्रहरीको केन्द्रीय कार्यालय, जिल्ला प्रहरी परिसर काठमाडौं लगायतले एनपीएलका क्रममा गैरकानुनी बेटिङ तथा सट्टेबाजी नगर्न आग्रह गरेका छन्। प्रहरीले एनपीएलको तेस्रो संस्करणमा सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो। साथै, सामाजिक सञ्जालमा एनपीएलका क्रममा कुन टिमले जित्छ भन्ने अनुमान लगाएको भरमा रातारात धनी बनाउने पोस्टहरू देख्न सकिन्छ। त्यस्ता पोस्टमार्फत केही रकम लगानी गर्न लगाएर ठुलो जितको आशा देखाउँदै अनलाइन ठगीसमेत हुने गर्छ।

उत्सवका रूपमा मनाइँदै आएको एनपीएललाई लक्षित गरी काठमाडौं प्रहरीले सुरक्षा व्यवस्था मिलाएको छ। प्रतियोगिताको सुरक्षा व्यवस्थापनमा सम्भावित जोखिमलाई ध्यान दिँदै आयोजक तथा अन्य सुरक्षा निकायसँग समन्वय र सहकार्य गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाले बताएका छन्। ‘फेस्टिभल्स अफ हिमालय’का रूपमा ब्रान्डिङ गरिएको प्रतियोगितासँग देशको प्रतिष्ठा र गौरवसमेत जोडिएकाले सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिइएको थापाको भनाइ छ।

सुरक्षा कायम गर्ने क्रममा अनावश्यक रूपमा लाठी, भाटा र डन्डासहित प्रहरी परिचालन गरेको दृश्य देखिन नहुने, तर सुरक्षा व्यवस्थामा पनि कुनै कमजोरी हुन नहुने भएकाले प्रविधिमा जोड दिएर सुरक्षा योजना बनाएर काम गरिएको उनले बताए। प्रतियोगितालाई प्रभावित पार्ने उद्देश्यले हुन सक्ने सट्टेबाजी, जुवालगायतका गैरकानुनी गतिविधिमाथि प्रहरीले निगरानी बढाएको छ। यस्ता गतिविधिमा संलग्न हुनेलाई प्रहरीले कानुनअनुसार कारबाही गर्ने बताइएको छ । प्रहरीले सट्टेबाजी नगर्न र नगराउन आग्रह गरेको छ। सम्भावित गतिविधि नियन्त्रण गर्न प्रहरी टोलीसमेत परिचालन गरिएको छ । अनलाइन तथा इन्टरनेटमार्फत हुने सट्टेबाजीमा मोबाइल बैंकिङ्गलगायतका माध्यम प्रयोग हुन सक्ने भएकाले यस्ता गतिविधिको अनुसन्धानमा विभिन्न प्रहरी निकाय संलग्न हुने थापाले बताए। प्रतियोगितामा म्याच फिक्सिङ हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै क्रिकेटसम्बद्ध निकायको आफ्नै निगरानी संयन्त्रसमेत रहने गरेको थापाले बताए।

यस्तो छ म्याच फिक्सिङको इतिहास
विगतमा नेपालमा फिक्सिङसम्बन्धी कडा र स्पष्ट कानुन नहुँदा अपराधीहरू उम्किने गरेका थिए। सन् २०१५ मा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहितका खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए। तर, तत्कालीन समयमा फिक्सिङविरुद्धको छुट्टै कानुन नभएकाले उनीहरूमाथि ‘राज्यविरुद्धको अपराध’ ९देशद्रोह० को मुद्दा चलाइएको थियो। जुन पछि अदालतमा प्रमाणित हुन नसक्दा उनीहरूले कानुनी रूपमा सफाइ पाएका थिए।

गत वर्षको दोस्रो एनपीएलमा प्रहरीले १० जनालाई पक्राउ गरेको थियो। दोस्रो संस्करणका क्रममा अवैध सट्टेबाजी गराएको आरोपमा प्रहरीले ०८२ मंसिर ३ गते दुई जनालाई र मंसिर ७ गते आठ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेलको हारजितमा रकम लगानी गरी सट्टेबाजी गर्ने कार्यमा संलग्न उनीहरूलाई बल्खुबाट पक्राउ गरिएको थियो।

साथै, एनपीएलको पहिलो संस्करणमा सट्टेबाजी गरेको आरोपमा चार भारतीय नागरिक पक्राउ परेका थिए। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कोलकाता बाह्रसान बवुगाद्धीका २४ वर्षीय सुमन घोष, उत्तर प्रदेश कानपुरका २५ वर्षीय अमित यादव, बिहार सहरसा बखरीका २७ वर्षीय सुमन्त कुमार र बिहार सहरसा हरंसरीका ३० वर्षीय ब्रजेश कुमारलाई पक्राउ गरेको थियो। प्रतियोगिताका क्रममा स्पोट्र्सबजी र प्रोबो नामका अनलाइन एपबाट मैदानमा सट्टेबाजी गरेको आरोपमा उनीहरूलाई कीर्तिपुर मैदानबाटै पक्राउ गरिएको थियो।

नेपाली क्रिकेटमा खेल मिलेमतोको विषयलाई गम्भीर रूपमा उठाएको अर्को घटना नेपाल टी–२० लिग हो। नेपाल टी–२० लिग काण्ड (२०२३) मा नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा भएको पहिलो नेपाल टी–२० लिगमा स्पट फिक्सिङ भएको सीआईबीको छानबिनले पुष्टि गरेको थियो। यस प्रकरणमा पूर्वराष्ट्रिय खेलाडी महबुब आलम र मोहम्मद आदिल अन्सारी पक्राउ परेका थिए। यस प्रकरणमा खेलहरूमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र नेपाल क्रिकेट संघ (क्यान)को व्यापारिक तथा रणनीतिक साझेदार सेभेन थ्री स्पोर्टर्सका सञ्चालक जतिन अलुवालियाको समूहले फिक्सिङका लागि खेलाडीहरूलाई प्रस्ताव गरेको देखिएको थियो।

सो खेलको प्रतिखेल खेलाडीले ६ देखि ८ लाख रुपैयाँ पाउने प्रस्ताव गरिएको थियो। स्पट फिक्सिङका लागि छ खेल खेल्दा कम्तीमा ३६ लाख रुपैयाँ पाउने लोभ देखाइएको थियो। त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको क्रिकेट मैदानमा २०७९ पुस ९ देखि २७ गतेसम्म सञ्चालन भएको नेपाल टी–२० क्रिकेट लिगमा लिगको प्रतिस्पर्धाबाट आउने स्वाभाविक परिणामलाई प्रतिकूल हुने क्रियाकलाप गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको थियो। त्यसअघि म्याच फिक्सिङको आरोपमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित चार खेलाडी २०७२ सालमा पक्राउ परेका थिए। थापासँगै विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई र प्रशिक्षक अञ्जन केसी पनि पक्राउ परेका थिए। अन्तर्राष्ट्रिय फुटबलमा नेपालले लगातार खराब नतिजा हात पारिरहेको बेला कप्तानसहितका खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परेका थिए।

कस्तो सजायको व्यवस्था ?
मुलुकी अपराध संहिता ऐन, २०७४ र राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ लगायतका कानुनी व्यवस्थाअनुसार नेपालमा खेलकुदमा मिलेमतो वा फिक्सिङ गर्नुलाई गैर कानुनी र फौजदारी अपराध मानिएको छ। नेपालको कानुनअनुसार खेलमा मिलेमतो वा फिक्सिङको कसुर प्रमाणित भएमा दोषीलाई तीनदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। साथै, फिक्सिङबाट आर्जन गरिएको रकमसमेत जफत गरिन्छ। यदि म्याच फिक्सिङको आरोपमा खेलाडी पक्राउ परेमा कानुनी र खेलकुद दुवै प्रक्रियाबाट निर्दोष ठहरिए मात्र पुनः खेलमा फर्कन सक्ने सम्भावना हुन्छ। तर, राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार दोषी प्रमाणित भएमा उनीहरूलाई जेल सजाय, जरिवाना र खेल गतिविधिमा प्रतिबन्ध लगाइनेछ।