खल्तीको कर्मचारी भन्दै बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने चार जना पक्राउ

'१८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बरहरूकाे प्रयाेग'


काठमाडौं – खल्ती वालेटको कर्मचारी भएको भन्दै सर्वसाधारणलाई झुक्याएर बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरले सुभम कुमार झा, अनिकेत कुमार यादव, पवन कुमार चौधरी र रिशी गंगालाई पक्राउ गरेको हो। 

प्रहरीका अनुसार उनीहरूले आफू खल्तीको कर्मचारी भएको दाबी गर्दै विभिन्न व्यक्तिलाई फोन, ह्वाट्सएप कल तथा म्यासेजमार्फत सम्पर्क गर्ने गरेका थिए। उनीहरूले ‘केवाईसी अपडेट गर्नुपर्ने’, ‘अपडेट नगरे वालेट खाता बन्द हुने’, ‘बैंक खाता खल्तीमा लिंक गरिदिने’, ‘व्यावसायिक खातामा रकम प्राप्त हुँदा आवाज आउने ई-स्पिकर उपलब्ध गराउने’ तथा ‘फन्ड ट्रान्सफर गर्दा शुल्क नलाग्ने बनाइदिने’ जस्ता प्रलोभन देखाएर सर्वसाधारणलाई झुक्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यसरी सम्पर्कमा आएका व्यक्तिलाई स्क्रिन सेयर गर्न लगाई खल्ती वालेट तथा मोबाइल बैंकिङ्गको ओटीपी कोड प्राप्त गर्ने र त्यसको दुरुपयोग गरी विभिन्न बैंक तथा वालेट खातामा अनधिकृत पहुँच पुर्‍याएर रकम ट्रान्सफर गरी ठगी गर्ने गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनीहरुको साथबाट बरामद गरिएका मोबाइल फोन तथा सिमकार्डको बरामद गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी)दिपक कुमार कार्कीले ठगीमा प्रयोग भएका १८ वटा मोबाइल तथा ह्वाट्सएप नम्बरहरू सार्वजनिक गरेका छन्।

प्रहरीले ती नम्बरबाट आफूलाई खल्ती वालेटको कर्मचारी बताउँदै फोन, एसएमएस वा ह्वाट्सएपमार्फत सम्पर्क गर्ने, केवाईसी अपडेट, ओटीपी, पासवर्ड वा स्क्रिन सेयर गर्न आग्रह गर्ने गरेको बताएको छ। कार्कीले सम्बन्धित नम्बरबाट ठगीको प्रयास भएको वा आर्थिक क्षति व्यहोरेको भए प्रहरीमा जानकारी गराउन आग्रह गरेका छन्।