काठमाडौं – नेपाल प्रहरीले लामो समयदेखि बिना सूचना कार्यालयमा गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न भनेको हो।
प्रहरी प्रधान कार्यालयले उनीहरुलाई एक सूचना प्रकाशित गर्दै गैरहाजिर हुनुको कारण सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो। खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत कार्यालयको सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले यो सामूहिक सूचनामार्फत उनीहरूलाई सफाइको अन्तिम मौका प्रदान गरेको छ।
सूचनामा प्रकाशित मितिले बाटोको म्यादबाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खुलाउँदै सम्बन्धित कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा उपस्थित हुन भनिएको छ। तोकिएको समयभित्र हाजिर नभएमा वा चित्तबुझ्दो स्पष्टीकरण नदिएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड(च)अन्तर्गतको कसुरमा नियम १०९ को देहाय (ख) (१०) बमोजिम सेवाबाट हटाउने कारबाही गरिने सूचनामा उल्लेख छ।
सात दिनभित्र हाजिर हुन निर्देशन दिइएका प्रहरी कर्मचारीमा जिल्ला सशस्त्र प्रहरी गुल्म बाराका प्रहरी हवल्दार दिलिप कुमार सिंह, प्रहरी प्रभाग दरबारस्क्वायर भक्तपुरका प्रहरी जवान अनिल परियार, प्रहरी प्रभाग सानेपा ललितपुरका प्रहरी जवान संगम बिसी र इलाका प्रहरी कार्यालय दिल्पा भोजपुरका प्रहरी जवान सञ्जीव राई रहेका छन्। त्यस्तै, प्रहरी चौकी चिलिङदिन पाँचथरका समीर लिम्बु, इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका सन्तोष तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका विनोद दमै र इलाका प्रहरी कार्यालय रगदा जाजरकोटका टोपबहादुर सुनार रहेका छन्।
यसैगरी प्रहरी चौकी स्याउले डडेल्धुराकी यसोदा कुमारी बोगटी, प्रहरी चौकी मेलबिसौना बझाङका करनबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका अमर सिंह साउदलाई समेत तोकिएको समयभित्र हाजिर हुन निर्देशन दिइएको छ।







About Us
प्रतिक्रिया