नेपाल राष्ट्र बैंकद्वारा कर्जा लिँदा सावधानी अपनाउन आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकले कर्जा लिँदा आवश्यक जानकारी हासिल गरी आफ्नो आर्थिक क्षमताअनुसार मात्र कर्जा लिन सर्वसाधारणलाई आग्रह गरेको छ। बैंकले वित्तीय सन्देश जारी गर्दै कर्जाको उद्देश्य, लागत, प्रतिफल र जोखिम विश्लेषण गरेर मात्र कर्जा प्रयोग गर्न सुझाव दिएको हो।

राष्ट्र बैंकका अनुसार कर्जा लिनुअघि आफ्नो आम्दानी, खर्च, ऋण तिर्न सक्ने क्षमता तथा धितो सुरक्षणबारे राम्रोसँग बुझ्न आवश्यक छ। कर्जा प्राप्त गर्नुअघि बैंक तथा वित्तीय संस्थाले माग गरेका आवश्यक कागजात पूरा गर्नुपर्ने र कर्जासम्बन्धी सर्तहरू स्पष्ट रूपमा बुझ्नुपर्नेमा पनि जोड दिएकाे छ।

बैंकले कर्जा प्रवाह गर्दा नगद प्रवाह, पुँजी, चरित्र , धितो र सर्तहरूलगायतका पाँच आधारलाई ध्यान दिनुपर्ने जनाएको छ। कर्जा प्रक्रियाअन्तर्गत आवेदन, ऋणीको मूल्याङ्कन, कर्जा स्वीकृति, कर्जा प्रवाह तथा अनुगमन र असुलीका चरणहरू पूरा गरिन्छन्। कर्जा स्वीकृतिपछि ऋणीलाई कर्जाको कुल रकम, ब्याजदरको संरचना र तिर्नुपर्ने अवधिसहितका सर्तहरू स्पष्ट जानकारी गराउनुपर्ने केन्द्रीय बैंकद्वारा सन्देशमा उल्लेख गरिएको छ।

त्यसैगरी, कर्जा प्रवाहपछि बैंक तथा वित्तीय संस्थाले ऋणीको कर्जा सदुपयोग, साँवा तथा ब्याज भुक्तानीको अवस्था नियमित रूपमा अनुगमन गर्नुपर्ने हुन्छ। राष्ट्र बैंकले ऋणीलाई सही सूचना दिने, सर्तहरू अध्ययन गर्ने, कर्जाको सदुपयोग गर्ने र ऋण अनुशासन पालना गर्ने जिम्मेवारीसमेत स्मरण गराएको छ। साथै, ग्राहकलाई गोपनीयता, गुनासो समाधान र विशेष संरक्षणलगायतका अधिकार प्राप्त हुने जनाएको छ।