काठमाडौं – नेपालको व्यापार घाटा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा २६ प्रतिशतले बढेर ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा देशको वैदेशिक व्यापारमा निर्यात र आयात दुवैमा वृद्धि भएको छ। कुल वस्तु निर्यात ६१.९ प्रतिशतले बढेर ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। तर, आयातको परिमाण निर्यातको तुलनामा निकै ठूलो रहेकाले व्यापार घाटा बढेको हो। समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले वृद्धि भई ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ। आयातमा भएको उल्लेख्य वृद्धिले निर्यात बढ्दा पनि व्यापार घाटा घट्न नसकेको देखिन्छ।
भारततर्फको निर्यातमा उल्लेख्य वृद्धि
राष्ट्र बैंकका अनुसार भारत, चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ७०.६ प्रतिशत, १३७.६ प्रतिशत र २२.७ प्रतिशतले बढेको छ। मुख्य रूपमा भटमासको तेल, पोलिष्टर धागो, पाम तेल र पार्टिकल बोर्डको निर्यात बढेको छ। यद्यपि, दाल, प्रशोधित छाला र आयुर्वेदिक औषधिको निर्यातमा भने कमी आएको छ।
त्यस्तै, भारत, चीन र अन्य मुलुकबाट हुने आयात क्रमशः २७.४ प्रतिशत, १७.२ प्रतिशत र ५६.६ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल र सवारीसाधन आयातका प्रमुख वस्तु रहेका छन्। यस अवधिमा सुन तथा धान–चामलको आयात भने घटेको छ।







About Us
प्रतिक्रिया