काठमाडौं-नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न स्कटल्यान्डका अलराउन्डर मार्क वाट काठमाडौं आइपुगेका छन्। कर्णाली याक्समा अनुबन्ध भएका ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले स्वागत गरेका थिए।
स्कटल्यान्डको राष्ट्रिय टोलीबाट ट्वान्टी-२० अन्तर्राष्ट्रिय (टी–२० आई) क्रिकेटमा ८३ खेल खेलेका वाटले ९४ विकेट लिएका छन् भने ३२१ रन बनाएका छन्। समग्र टी–२० क्रिकेटमा उनले १३१ खेल खेल्दै १२३ विकेट लिनुका साथै ४०३ रन बनाएका छन्। वाटले अघिल्लो संस्करणको एनपीएलमा पनि कर्णाली याक्सबाटै खेलेका थिए। उक्त प्रतियोगितामा उनले ११४ रन बनाएका थिए। उनले मात्र ४१ बलमा शतक प्रहार गर्दै प्रतियोगितामा आफ्नो प्रभाव देखाएका थिए। उनी आन्द्रेस गौसपछि एनपीएलमा शतक प्रहार गर्ने दोस्रो खेलाडीसमेत हुन्।
तेस्रो संस्करणका लागि कर्णाली याक्सले वाटसहित विभिन्न देशका अनुभवी तथा प्रतिभाशाली खेलाडीलाई टोलीमा आबद्ध गरेको छ। विदेशी खेलाडीमा दक्षिण अफ्रिकाका डेविड मिलर, पाकिस्तानका साहिबजादा फरहान र हुसेन तलात तथा बंगलादेशका अरिफुल इस्लाम र अकबर अली छन्।
त्यस्तै, घरेलु खेलाडीमध्ये मार्की खेलाडी सोमपाल कामीसँगै राष्ट्रिय टोलीका अलराउन्डर गुल्सन झा, बलर नन्दन यादव, विपिन शर्मा, युनिसविक्रम सिंह, दीपेन्द्र रावत, पवन सर्राफ, युवराज खत्री, दीपक डुम्रे, सूर्य तामाङ, दिवान पुन, शिवम तिवारी र सचिन शर्मालाई कर्णालीले अनुबन्ध गरेको छ। अघिल्लो संस्करणमा शतक प्रहार गरेका वाटको आगमनले तेस्रो संस्करणमा कर्णाली याक्सको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ।







About Us
प्रतिक्रिया