‘व्यवहारमा व्यापार सहजीकरण हुनुपर्छ’


काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले व्यापार सहजीकरण कागजमा मात्र नभएर व्यवहारमा गरिनुपर्ने बताएका छन्। महासङ्घले आयोजना गरेको वर्तमान आर्थिक अवस्था र निजी क्षेत्रको आर्थिक वृद्धिको सम्भावना विषयक कार्यक्रममा उनले प्रक्रियागत झन्झटको अन्त्य गर्दै सहजीकरण गर्ने नीति राज्यले अङ्गीकार गर्नुपर्ने बताए ।

‘अहिले व्यापार सहजीकरण कागजी प्रक्रियामा मात्रै धेरै भएको देखिन्छ। तर नीजि क्षेत्रले व्यवहारमा नै परिवर्तनको आभास गर्न चाहिरहेको छ’, उनले भने,’खर्च प्रणाली आधुनिक बनाउने, डिजिटल प्रणालीमा आधारित एकीकृत व्यापार प्रक्रिया लागू गर्ने, भरपर्दो ‘लजिस्टिक’ पूर्वाधार बनाउने र सीमापार भुक्तानी भरपर्दो सीमापार ढुवानी भरपर्दो बनाउनेतर्फ पनि सरकार अग्रसरतामा देखाउनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका साना तथा मझौला उद्योगहरू गम्भीर समस्यामा परेको भन्दै ती समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।