काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सार्वजनिक भएको अडिओ प्रकरणमा आफू छानबिनका लागि तयार रहेको बताएका छन्। उनले अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) लगायतका प्रविधि प्रयोग गरेर बनाइएको दाबी गर्दै यसको सत्यतथ्य पत्ता लगाउन पार्टी र सरकारलाई सहयोग गर्ने बताएका हुन्।
मंगलबार बिहान भिडियो सन्देश जारी गर्दै सुनारले आफूविरुद्ध सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गरे। प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको भनाइ छ।
‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप–प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडिओ सार्वजनिक गरिएको छ,’ उनले भने।
उनले आफूविरुद्ध उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न पार्टी र सरकारलाई आग्रह गरेका छन्। छानबिनका क्रममा आफूले पूर्ण सहयोग गर्ने र आवश्यक प्रश्नको जवाफ दिन तयार रहेको पनि उनले बताए।
‘ममाथि उठेका प्रत्येक प्रश्नको, आरोपको सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारलाई हार्दिक अपिल गर्न चाहन्छु। भ्रष्टाचारविरुद्ध प्रश्न गर्दैगर्दा एक नागरिकमाथि गरिएको निर्मम अत्याचार र घृणाको कठघरामा उभिएर म जवाफ दिन तयार छु,’ उनले भने।
सुनारले सार्वजनिक अडिओबारे फैलिएका भ्रममा नपर्न आम नागरिकलाई आग्रह गर्दै घटनाको सत्यतथ्य छानबिनबाट स्पष्ट हुने बताएका छन्।






About Us
प्रतिक्रिया