नयाँ सरकारपछि बाहिरबाट हेर्दा सबै ठीकठाक जस्तो देखिएपनि जनआक्रोश घटेको छैनः गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले नयाँ सरकार गठनपछि मुलुक बाहिरबाट हेर्दा शान्त र स्थिर देखिए पनि समाजमा रहेको असन्तुष्टि र जनआक्रोश नघटेको बताएका छन्। १५औँ महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले समाजमा ठूलो अविश्वास र फ्रस्टेसन रहेको भन्दै जुनसुकै बेला सानो घटनाले पनि ठूलो रूप लिन सक्ने बताएका हुन्।

‘अहिलेको समय झट्ट हेर्दा शान्त छ। चुनाव भएको छ, सरकार छ, दुई तिहाइको बहुमत छ, हामी प्रतिपक्षमा छौँ। सबै ठीकठाक देखिन्छ। तर यस्तो होइन,’ उनले भने।हालै मधेशमा भएको घटनालाई उदाहरण दिँदै थापाले सानो घटनाले पनि एकाएक परिस्थिति भड्किन सक्ने अवस्था रहेको बताए।

‘अस्ति भर्खर मधेशको घटनाले के देखायो भने सानो एउटा घटनाले पनि एकाएक आगो बल्न सक्ने अवस्था छ,’ उनले भने। थापाले नेपाली समाजमा बेचैनी, असन्तुष्टि र निराशा रहेको बताए। चुनावपछि नयाँ राजनीतिक शक्ति उदाएको र बाहिरबाट सबै कुरा सामान्य देखिए पनि समाजको भित्री अवस्था भने फरक रहेको उनको भनाइ छ।