काठमाडौं – एनआईसी एशिया बैंकद्वारा ई–कमर्स भुक्तानीद्वारमा आबद्ध व्यवसायी ग्राहकहरूले अब नेपालमै पहिलो पटक ‘एप्पल पे’ र ‘गुगल पे’ अन्तर्गतका भिसा तथा मास्टरकार्ड प्रयोगकर्तामार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्ने भएका छन्।
यस सुविधाअन्तर्गत डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यसहित बैंकको साइबरसोर्स भुक्तानीद्वारमा आबद्ध भएका तथा आबद्ध हुन चाहने व्यवसायी ग्राहकहरूले विश्वभर रहेका एप्पल पे तथा गुगल पे प्रयोगकर्ताबाट आफ्नो ई–कमर्स मञ्चमार्फत सहज र सुरक्षित रूपमा भुक्तानी स्वीकार गर्न सक्नेछन्।
एप्पल पे तथा गुगल पे विश्वव्यापी रूपमा मान्यताप्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। यसमार्फत अन्तर्राष्ट्रिय ग्राहकहरूले भौतिक रूपमा कार्ड प्रयोग गर्नुपर्ने झन्झट हटाउँदै आफ्नो कार्ड विवरणलाई एप्पल पे तथा गुगल पे मोबाइलमा विद्युतीय टोकनका रूपमा सुरक्षित राखी सरल तरिकाले भुक्तानी गर्न सक्नेछन्।
यस सुविधाको उपयोग गर्न विशेषगरी होटल, पर्यटन तथा यात्रा, हस्तकला, वायुसेवा, ई–कमर्स, सूचना प्रविधि लगायतका क्षेत्रका व्यवसायी ग्राहकहरूले बैंकको ई–कमर्स भुक्तानीद्वार साइबरसोर्समा आबद्ध भई अन्तर्राष्ट्रिय ग्राहकहरूबाट एप्पल पे तथा गुगल पेमार्फत भुक्तानी लिन सक्नेछन्।
यस सुविधाले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज र परिचित भुक्तानी अनुभव प्रदान गर्न सहयोग पुर्याउनेछ। विशेषगरी पर्यटन तथा आतिथ्य, यात्रा, ई–कमर्स, सूचना प्रविधि, सामान निर्यातलगायत अन्तर्राष्ट्रिय ग्राहकबाट भुक्तानी प्राप्त गर्ने व्यवसायका लागि यसले अन्तरदेशीय व्यापार विस्तार गर्न तथा विदेशी मुद्रा आर्जनको सम्भावनालाई थप सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
नेपालमै पहिलो पटक सुरु भएको यस भुक्तानी सेवाले भुक्तानी प्रणालीलाई थप सहज र सरल बनाउनुका साथै व्यवसायी ग्राहकहरूको व्यवसाय विस्तारमा टेवा पुर्याउने, भुक्तानीलाई सरल र सुरक्षित बनाउने तथा नेपालको पर्यटन प्रवद्र्धनमा समेत सकारात्मक योगदान गर्ने बैंकले विश्वास लिएको छ। साथै, यस सेवाले देशको अर्थतन्त्र र अन्तरदेशीय भुक्तानी प्रणालीमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।






About Us
प्रतिक्रिया