भोटेकोशी बाढी प्रभावित प्रहरी परिवारका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तरसम्म निःशुल्क शिक्षा


काठमाडौं – गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका क्रममा कर्तव्यपालनामा खटिएका नेपाल प्रहरीका प्रभावित कर्मचारीहरू तथा परिवारजनप्रति लक्षित गर्दै नेपाल प्रहरीले विशेष राहत तथा कल्याणकारी निर्णय गरेको छ। 

सोमबार बसेको नेपाल प्रहरी नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित २८ जना नेपाल प्रहरी कर्मचारीका सन्ततिहरूलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ। 

यसका साथै समितिले प्रभावित प्रहरी परिवारका अन्य सदस्यहरूको जीविकोपार्जन तथा दीर्घकालीन पुनः स्थापनाका लागि विशेष ध्यान दिँदै उनीहरूलाई आवश्यकता अनुसारका सीपमूलक तथा व्यावसायिक तालिमहरू प्रदान गरी रोजगारीको समेत उचित व्यवस्था मिलाउने ऐतिहासिक निर्णय  गरेको छ। जोखिमपूर्ण अवस्थामा पनि राष्ट्र र जनताको सुरक्षामा समर्पित प्रहरी कर्मचारीहरूको त्याग र समर्पणको उच्च मूल्याङ्कन गर्दै यो कदम चालिएको हो।