काठमाडौं – अर्थत्रन्त्रसँग सम्बन्धित पुस्तक ‘ड्यागर अफ द माइन्ड’ हरेक बैंकरहले पढ्नुपर्ने देखिएको छ । नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीद्वारा लेखिएको यस पुस्तकमा अर्थशास्त्रमा रुचि राख्नेहरूको लागि बढी प्राथमिकता दिइएको छ । बैंकिङ्ग क्षेत्रमा कार्यरत तल्लो तहका कर्मचारीदेखि नेतृत्व, व्यवस्थापन र व्यक्तिगत विकासमा रुचि राख्नेका लागि यो पुस्तक लक्षित गरिएको छ ।
कार्कीको दोस्रो कृतिका रूपमा आएको ‘ड्यागर अफ द माइन्ड’ मा मानिसको सोच, निर्णय क्षमता, व्यवहार, मानसिक पक्षका साथै आर्थिक तथा बैंकिङ्ग विषयलाई समावेश गरिएको छ । विशेष गरी बैंकिङ्ग जस्तो निरन्तर निर्णय लिनुपर्ने, दबाब र जिम्मेवारीका बिच काम गर्नुपर्ने क्षेत्रमा कार्यरत व्यक्तिका लागि पुस्तक उपयोगी हुने अपेक्षा गरिएको छ।
बैंकिङ क्षेत्रमा काम गर्दा प्राविधिक ज्ञानसँगै सही निर्णय क्षमता, सकारात्मक सोच, आत्म अनुशासन र परिस्थितिअनुसार आफूलाई व्यवस्थापन गर्न सक्ने क्षमता पनि महत्त्वपूर्ण हुन्छ । यही पक्षलाई पुस्तकले विभिन्न कोणबाट प्रस्तुत गरेको छ ।
कार्कीको यस पुस्तकलाई पूर्व अर्थमन्त्री समेत रहेका रामेश्वर खनालले खुलेरै प्रशंसा गरेका छन् । ‘आर्थिक नीति र अर्थतन्त्र सञ्चालनमा रहेका विभिन्न भ्रमलाई सरल ढङ्गले स्पष्ट पार्ने प्रयत्न सार्थकले गरेका छन्।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अर्थशास्त्रमा रुचि राख्ने सबैलाई यो पुस्तक पढ्न सिफारिस छ । लेखक नेपाल राष्ट्र बैंकका बहालवाला अधिकृत हुन् । हाम्रा संस्थाहरूमा विश्व स्तरको विश्लेषण गर्न सक्ने अधिकृत छन् भन्न पाउँदा गर्व महसुस हुन्छ।’
कार्कीको यस किताब असोज ७ गतेसम्म थुप्रै डटकमको सर्वाधिक बिक्री हुनेको पहिलो नम्बरमा समेत छ । अर्थशास्त्र तथा वित्तका विद्यार्थी एवं अध्येता, साथै अर्थशास्त्र, वित्त र समग्र व्यवस्थापन क्षेत्रमा कार्यरत व्यावसायिकहरूका लागि पुस्तकका विषयहरू उपयोगी रहेको लेखक कार्कीको भनाई छ । यस पुस्तकमा आर्थिक तथा वित्तीय विषयसँग सम्बन्धित १२ वटा निबन्धहरूको सङ्ग्रह रहेका छन् ।






About Us
प्रतिक्रिया