काठमाडौं-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न राष्ट्रिय राजमार्ग तथा मुख्य सडकखण्डमा यातायात प्रभावित भएको छ। सडक विभागका अनुसार काठमाडौँ उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति राजमार्गसहित सातवटा राष्ट्रिय राजमार्गमा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।
पूर्व-पश्चिम राजमार्गसहित केही सडकखण्डमा भने एकतर्फी तथा आंशिक रूपमा यातायात सञ्चालन भइरहेको विभागले जनाएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको रजैयामा पहिरो गएपछि सडक एकतर्फी सञ्चालनमा छ। पहिरो हटाएर सडकलाई पूर्णरूपमा सञ्चालनमा ल्याउन मेसिन परिचालन गरिएको छ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर, तिङ्ग्राङखानी, बाङ्गे र चालिसेमा पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको छ। पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको नाम्सी खोला पुलमा लेदोसहित पहिरो खसेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। पहिरो हटाउने काम जारी छ।
बीपी राजमार्गअन्तर्गत माम्ती, पिप्ले, दाउन्ने–कालोपुल, चारसयबेँसी, कटुन्जे र चौकीडाँडालगायत स्थानमा पहिरो तथा बाढीले डाइभर्सन बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ। निरन्तर वर्षा भइरहेकाले आज सडक सञ्चालन गर्न कठिन हुने विभागले जनाएको छ।
कान्ति राजमार्गमा चपली र तकुर्चेलगायत स्थानमा पहिरो झरेपछि सवारी आवागमन बन्द छ। सिद्धिचरण राजमार्गअन्तर्गत ओखलढुङ्गा–सल्लेरी सडकको सोलु खोला नजिक सडक भासिएपछि भित्तो कटान गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिएको छ। मध्यपहाडी राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधे–हटिया खण्ड, नरेठाँटी, काफलठुटा, झाँक्रीस्थान र चौराहलगायत स्थानमा पहिरो तथा ढलेका रुख हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ।
कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको रघुगङ्गा–२ बैसेरी सिरुवारीमा पहिरो झरे पनि वर्षाका कारण हटाउन कठिनाइ भइरहेको छ। जैमिनी–८ बेलबगरमा स्थानीय यातायातका लागि सडक एकतर्फी खुलाइएको छ भने लामो दूरीका सवारीलाई अनुमति दिइएको छैन। तमोर करिडोरको मुलघाट–फिदिम खण्डमा छरुवा खोला, नवा खोला र रानीगाउँमा सडक आंशिक रूपमा अवरुद्ध छ। नदीको बहाव बढ्दा सडक अवरुद्ध हुने र घटेपछि सञ्चालन हुने अवस्था रहेको विभागले जनाएको छ।
राप्ती राजमार्गको कपुरकोट–खारखोला–टुनीकोट खण्ड पहिरोका कारण पूर्णरूपमा बन्द छ। कर्णाली राजमार्गको गगने खोला, राँका तथा बाङ्गेसिमल–दहीखोला खण्डमा पनि पहिरोका कारण यातायात प्रभावित भएको छ। ती स्थानमा पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने काम भइरहेको छ।
भालुवाङ–चकचके–लिवाङ सडकका विभिन्न स्थानमा पहिरो खसेपछि आंशिक अवरोध भएको छ। साना सवारीसाधन सावधानीपूर्वक सञ्चालनमा ल्याइए पनि पहिरो तथा ढुङ्गा हटाउने काम जारी छ। बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–स्थित खोत्रोमा ढुङ्गा खसेपछि सडक पूर्णरूपमा बन्द भएको छ। पहिरो पन्छाउन कठिनाइ भइरहेको विभागले जनाएको छ।
सडक विभागका प्रवक्ता शुभराज न्यौपानेका अनुसार सडक अवरोध हटाई यातायात सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन उपकरण तथा प्राविधिक जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। निरन्तर वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न विभागले आग्रह गरेको छ।






About Us
प्रतिक्रिया