काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लगानीसम्बन्धी नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत गराएर मात्र लागू गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
राष्ट्र बैंककाअनुसार बैंक तथा वित्तीय संस्थाले सरकारी सुरक्षणपत्र, राष्ट्र बैंक ऋणपत्र, संगठित संस्थाका शेयर, डिबेञ्चरलगायतका वित्तीय उपकरणमा गर्ने लगानीका लागि जोखिम न्यूनीकरणलाई ध्यानमा राखी स्पष्ट नीति तथा कार्यविधि बनाउनुपर्नेछ। उक्त नीति तथा कार्यविधि सञ्चालक समितिबाट स्वीकृत भएपछि मात्र कार्यान्वयन गर्न पाइनेछ। राष्ट्र बैंकले लगानी नीतिमा लगानीको उद्देश्य तथा रणनीति, लगानी गर्न सकिने शेयर तथा डिबेञ्चरलगायतका उपकरण, लगानी उपकरणलाई बैंकिङ्ग बुक र ट्रेडिङ बुकमा वर्गीकरण गर्ने व्यवस्था समेट्न भनेको छ।
त्यस्तै, लगानीसम्बन्धी निर्णय तथा कारोबारमा बैंकको स्वामित्वमा रहेका सहायक कम्पनी, उल्लेख्य स्वामित्व भएका शेयरधनी तथा जोखिम वाहकसँग स्वार्थको द्वन्द्व हुन नदिने व्यवस्था गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थाले लगानी स्वीकृत गर्ने स्पष्ट प्रक्रिया र अख्तियारी निर्धारण गर्नुपर्नेछ। राष्ट्र बैंकले लगानी कारोबार गर्न तोकिएका अधिकारीले गर्न सक्ने लगानीको सीमासमेत स्पष्ट रूपमा तोक्नुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै, लगानी गर्न अख्तियारी प्राप्त अधिकारीको क्षमता अभिवृद्धिका लागि समेत स्पष्ट व्यवस्था गर्नुपर्ने जनाएको छ।






About Us
प्रतिक्रिया