दोभान बजारमा भीषण आगलागी, आठ घर पूर्ण रूपमा जले


काठमाडौं- ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा आठ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएका छन्। आगलागी नियन्त्रण तथा उद्धारका लागि सशस्त्र प्रहरीसहित अन्य सुरक्षा निकाय, वारुण यन्त्र र स्थानीयवासी परिचालन भएका छन्।

आज दिउँसो स्थानीय डङ्डु शेर्पाको दुईतल्ले घरमा सञ्चालित कपडा पसल तथा होटलबाट अचानक विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको छ। आगलागीको सूचना प्राप्त भएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १ कञ्चनजङ्घा गुल्म ताप्लेजुङबाट सशस्त्र प्रहरी निरीक्षक डिगेन्द्र ओलीको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो।

आगलागीबाट हालसम्म आठ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको जनाइएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। आगो पूर्ण रूपमा नियन्त्रणमा लिन तथा सम्भावित थप क्षति रोक्न सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय, वारुण यन्त्र र स्थानीयवासीको सहयोगमा उद्धार तथा नियन्त्रणको काम जारी रहेको छ।