रुसमा रहेका नेपालीको कमाइ वैधानिक रूपमा ल्याउने व्यवस्था गरियोस्: खुस्बु ओली


काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले रूसमा रहेका नेपालीले आफ्नो कमाइ नेपालमा वैधानिक रूपमा पठाउन सक्ने प्रभावकारी माध्यमको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद ओलीले रुससँगको द्विपक्षीय बैंकिङ्ग सम्बन्ध, छात्रवृत्ति प्राप्त विद्यार्थीहरूको एनओसी, चिकित्सा शिक्षाको मान्यता र श्रम स्वीकृतिलगायतका विषयमा तत्काल नीतिगत पहल गर्न माग गरेकी हुन्।

सांसद ओलीले हाल रुसमा रहेका नेपालीहरूले आफ्नो कमाइ वैधानिक रूपमा नेपाल पठाउन नसकिरहेको अवस्थालाई पहिलो गम्भीर समस्याका रूपमा औंल्याइन्। रुस–युक्रेन युद्धपछि रुसी बैंकहरू अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट प्रभावित हुँदा नेपाली नागरिकले नगद नै बोकेर नेपाल ल्याउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताइन्।

यसले हुण्डीजस्तो अनौपचारिक कारोबारलाई प्रश्रय दिने भन्दै उनले भारतसँगको बैंकिङ्ग संयन्त्रजस्तै अन्य विकल्पहरूको खोजी गर्न राष्ट्र बैंकलाई आग्रह गरिन्।