काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वर बस आगजनी प्रकरणलाई लिएर गृहमन्त्री सुदन गुरुङसमक्ष कडा प्रश्न उठाएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै दुलालले ट्राफिक प्रहरी र चालक अर्जुन लामा दोङबीच भएको विवादपछि घटेको दुःखद घटनामा गम्भीर घाइते भएका चालक दोङको उपचारका क्रममा निधन भएको प्रसंग उठाएका हुन्। दुलालले यसअघि काठमाडौं महानगर प्रहरीसँगको विवादपछि गणेश नेपालीको ज्यान गएको घटनामा गृहमन्त्रीले दिएको जवाफ स्मरण गराउँदै सरकारको जिम्मेवारीबारे प्रश्न गरे। गत असार २६ गते त्रिपुरेश्वरमा भएको उक्त घटनापछि गृहमन्त्री गुरुङले संसद्मा जवाफ दिँदै महानगर प्रहरी आफ्नो मातहत नरहेको र स्थानीय तहअन्तर्गतको निकाय भएको बताएका थिए।
सोही प्रसंग उल्लेख गर्दै दुलालले संसद्मा प्रश्न गरे, ‘गणेश नेपालीले जीवन गुमाउँदा यो महानगरको प्रहरी नेपाल सरकारको होइन, स्थानीय तहको हो भनियो। आज म गृहमन्त्रीलाई प्रश्न सोध्न चाहन्छु– नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी कसको हो ? नेपाल सरकार कसको हो ? नेपाल प्रहरी चलाउने मन्त्री को हो ? यसको स्पष्ट जवाफ चाहियो।’ उनले त्रिपुरेश्वरमा भएका लगातारका दुःखद घटनाले राज्य र सरकारप्रति नागरिकमा बढ्दो निराशा तथा अविश्वास देखाएको बताए। श्रमिकमाथि नियमनकारी निकायबाट अमर्यादित व्यवहार हुने गरेको आरोप लगाउँदै उनले नियमनकारी निकायलाई थप जिम्मेवार र मर्यादित बनाउन सरकारको ध्यानाकर्षण गराए।
‘नियमनकारी निकाय आफैं मर्यादित नभई मजदुरबाट मर्यादाको अपेक्षा गर्न सकिँदैन,’ दुलालले भने, ‘राज्य र सरकारलाई आफ्ना नियमनकारी निकायलाई मर्यादित बनाउन तथा आवश्यक काउन्सिलिङको व्यवस्था गर्न अनुरोध गर्न चाहन्छु।’ दुलालले ठूला सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विद्यमान व्यवस्था पुनरावलोकन गर्न पनि सरकारसँग माग गरे। साना सवारीको लाइसेन्स नलिई ठूला सवारीको लाइसेन्स लिन नपाउने व्यवस्था सच्याउनुपर्ने उनको भनाइ थियो। साथै उनले सरकारले नागरिकका समस्या समाधानभन्दा पनि हेरेर बस्ने भूमिका निर्वाह गरेको आरोप लगाए। ‘सरकार अब के गर्छ ? सरकार हेर्ने मात्र हो कि नागरिकको संवेदना सुन्ने हो ?’ उनले प्रश्न गर्दै ‘सस्तो भावुकता, उत्ताउलोपना र देखासिखीले सरकार चलाउन सकिए पनि कुशल राजनीतिक चरित्र देखाएर मात्र प्रभावकारी शासन सञ्चालन गर्न सकिन्छ’ भने।






About Us
प्रतिक्रिया