वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै २० लाख बढी ठगी गर्ने पाँच जना पक्राउ


काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्घाखाँचीकी मनिषा सुनार, ठाकुर बहादुर सुनार, पाल्पाकाखोप बहादुर शाही, भक्तपुरका दिपेन्द्र खत्री र स्याङ्जाकी सिता लुईटेल रहेका छन्।

पक्राउ मध्ये मनिषा र ठाकुर बहादुरले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, खोप बहादुरले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट २ लाख रूपैयाँ, दिपेन्द्रले न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ र सिताले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषा र ठाकुर बहादुरलाई काठमाडौं महानगरपालिका– ९ बाट शनिबार, खोप बहादुरलाई काठमाडौं तारकेश्वर नगरपालिका– १६ बाट आइतबार, दिपेन्द्र र सितालाई काठमाडौं महानगरपालिका–१२ बाट सोमबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।