विराटनगर – जीवन विकास लघुवित्त वित्तीय संस्थाले १६० स्थानमा सामाजिक कार्य गरी स्वयंसेवक दिवस मनाएको छ। लघुवित्तको मातृ संस्था जीवन विकास समाजको स्थापना दिवसको अवसर पारेर असोज ५ गते सोमबार ‘जीवन विकासको आह्वान देश विकासमा श्रमदान भन्ने मूल नाराका साथ ‘जीवन विकास स्वयंसेवक दिवस’मनाएको हो। कोसी, मधेस र बागमती प्रदेशका ३१ जिल्लामा घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासको १६० वटा शाखा कार्यालयहरू छन्। सबै शाखा कार्यालयहरूले आफ्नो कार्यक्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गरेको लघुवित्तका प्रवक्ता सुदीकुमार मण्डलले जानकारी दिए।
स्वयंसेवक दिवसमा लघुवित्तले श्रमदान मार्फत १६ अति विपन्न परिवारको घर पुन:निर्माण गरेको छ। शाखा कार्यालयहरूको अग्रसरतामा घर बनाउन नसक्ने अवस्थाका अति विपन्न नागरिकको घर पुन:निर्माण गरिदिएको हो। जीवन विकासका ३६ वटा शाखाले विद्यालय सरसफाइ र खेलकुद कार्यक्रम गरेका छन्। २६ वटा शाखाले मन्दिर सरसफाइ, डस्टबिन वितरण तथा वृक्षारोपण गरेका छन्।

२३ वटा शाखाले विद्यालय सरसफाइ तथा वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन्। १२ वटा शाखा कार्यालयले वृक्षारोपण कार्यक्रम आयोजना गरेका छन्। १९ स्थानमा मन्दिर सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेको छ। ५ वटा शाखाले बजार सरसफाइ तथा डस्टबिन वितरण कार्यक्रम आयोजना गरेका छन्। चार वटा शाखाले शाखाको कार्यक्षेत्र भित्र रहेका ४ वटा अति विपन्न परिवारलाई सहयोग गरेका छन्। २ स्थानमा चौतारी निर्माण गरेको छ। ५ वटा शाखाले बजार सरसफाइ तथा वृक्षारोपण गरेका छन्। शाखा कार्यालयहरूले सार्वजनिक भवन सरसफाइ तथा वृक्षारोपण, खेलमैदान सरसफाइ तथा वृक्षारोपण कार्यक्रम, वृद्धाश्रमलाई खाद्यान्न सहयोग, इको भिलेजमा वृक्षारोपण, एक स्थानमा प्रहरी कार्यालय सरसफाइ गरेका छन्।

जीवन विकासले आयोजना गरेको सामाजिक कार्यक्रमहरूमा जनप्रतिनिधि, थ्री जिरो क्लब, नवबिहानी समूह, लघुवित्तका कर्मचारी, स्थानीय नागरिक समाजका अगुवा र लघुवित्तका सदस्यहरू सहभागी थिए। २०७२ सालमा आयोजित सदस्य सम्मेलनबाट जीवन विकासले श्रमदान गरेर स्वयंसेवक दिवस घोषणा गरेको थियो। २०७३ सालदेखि समुदायमा श्रमदानको भावना विकास गर्नका लागि निरन्तर रूपमा स्वयंसेवक दिवस मनाउँदै आएको जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले जानकारी दिए।







About Us
प्रतिक्रिया