काठमाडौं – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क प्रस्थान गर्न लागेका प्रधानमन्त्री बालेन्द्र शाहले बिदाइको परम्परागत शैली तोड्ने भएका छन्। उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक बिदाइको तामझाम नगर्ने उनको नीजि सचिवालयले जनाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा उनलाई परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम तय भएको छैन्। उनी बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन्। विगतमा प्रधानमन्त्री विदेश भ्रमणमा जाँदा विमानस्थलको भीआईपी लाउन्जमा औपचारिक कार्यक्रम हुने गरेको भएपनि बालेनले त्यो परम्परा तोड्ने सचिवालय स्रोतले जनाएकाे छ।
सामान्यत प्रधानमन्त्रीको विदाइमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेपनि मंगलबार साँझ कसैलाई पनि निम्ता गरिएको छैन्। प्रधानमन्त्री शाहले बिहीबार महासभाको ‘जनरल डिबेट’लाई सम्बोधन गर्नुका साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नेछन्।
दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कार्यवाहक नेपाली राजदूत कुमार राईले स्वागत गर्नेछन्। परराष्ट्रमन्त्री शिशिर खनाल यसअघि नै न्युयोर्क पुगिसकेका छन्। प्रधानमन्त्रीको भ्रमण दलमा मुख्य सल्लाहकार कुमार व्यञ्जनकार, प्रमुख शिष्टाचार अधिकारी कुमार खरेल, निजी फोटोग्राफर विनय शाक्य, दुई जना सुरक्षाकर्मी र एक जना शिष्टाचार अधिकृत रहनेछन्। प्रधानमन्त्री शाह शनिबार काठमाडौं फर्कने कार्यक्रम छ।






About Us
प्रतिक्रिया