सार्वजनिक शान्ति भङ्ग तथा अवाञ्छित गतिविधिमा संलग्न १४ जना पक्राउ


काठमाडौं – काठमाडौंको गौशाला क्षेत्रमा सार्वजनिक मर्यादा तथा शान्ति भङ्ग गर्ने, लागूऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र रात्रिकालीन व्यवसायमा बिचौलियाको भूमिका निर्वाह गरेको आरोपमा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं महानगरपालिका–९ स्थित पिंगलास्थान क्षेत्रबाट ६ जना पुरुष र ८ जना महिलासहित १४ जनालाई नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार उनीहरू सार्वजनिक सडक तथा स्थलमा स्वदेशी तथा विदेशी पर्यटक, ग्राहक र सर्वसाधारणलाई लागूऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने, दुःख–हैरानी दिने तथा अभद्र व्यवहार गर्ने गरेका थिए। उनीहरू डान्स, दोहोरी, बार तथा क्लबजस्ता रात्रिकालीन व्यवसायमा बिचौलियाका रूपमा काम गर्ने तथा लडाइँ–झगडा र अन्य गतिविधिमार्फत सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने कार्यमा संलग्न रहेको प्रहरीले जनाएको छ। 

प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूमाथि अभद्र व्यवहार गर्न नहुनेसम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ।