काठमाडौं उपत्यकामा एलपी ग्यास आपूर्तिमा सुधार: एकै दिन १६२ बुलेट र ५० हजारभन्दा बढी सिलिन्डर भित्रिए


काठमाडौं – काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बनाउने प्रयासस्वरूप एकै दिन उल्लेख्य परिमाणमा ग्यास भित्रिएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वय तथा पहलमा पछिल्लो २४ घण्टामा १६२ बुलेट एलपी ग्यास र ५० हजार ८०८ थान सिलिन्डर उपत्यका भित्रिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो समय देखिएको ग्यास अभावको समस्यालाई समाधान गर्न आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखिएको थियो। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहको नेतृत्वमा नेपाल आयल निगम, ग्यास उद्योगी तथा व्यवसायीहरूसँगको निरन्तर समन्वयपछि आपूर्ति प्रणालीमा सुधार आएको हो।

नेपाल आयल निगम, वीरगन्ज शाखाको दैनिक बिक्री विवरणअनुसार सो अवधिमा २,९८२.४५० मेट्रिक टन ग्यास बिक्री तथा ढुवानी भएको छ। सोहीअनुसार उपत्यकामा मात्रै ५० हजार ८०८ थान सिलिन्डर पठाइएको हो। ग्यासको असहजताका कारण गृहिणी, विद्यार्थी तथा आम उपभोक्ताले भोगिरहेको समस्यालाई ध्यानमा राख्दै आपूर्ति व्यवस्थालाई थप चुस्त बनाइएको मन्त्रालयको भनाइ छ।