काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा गुडिरहेका पुराना तथा थोत्रा सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले आकाशमा सेता बादल दौडिए पनि जमिनमा सवारीसाधनको कालो धुवाँका कारण नागरिक निसास्सिन बाध्य भएको बताइन्।
‘माथि आकाशमा सेतो बादल दौडिइरहँदा हामी जमिनमा भने कालो मुस्लो गाडीको धुवाँबाट निसास्सिएर कतिबेला छुटकारा पाउने भनेर आफ्नो गाडी ओभरटेक गर्न बाध्य छौँ,’ उनले भनिन्।
सांसद तामाङले सवारीसाधनबाट हुने प्रदूषण नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको आरोप लगाइन्। आफूले तीन महिनाअघि पूर्वाधार विकास मन्त्रालयमा कालो धुवाँ फाल्ने सवारीसाधनमाथि कडा कारबाहीको विषय उठाएको स्मरण गराउँदै उनले त्यसबेला सम्बन्धित मन्त्रीले ५०० रुपैयाँ रहेको जरिवाना बढाएर ५० हजार रुपैयाँसम्म पुर्याउने प्रतिबद्धता जनाएको भए पनि कार्यान्वयन हुन नसकेको बताइन्।
‘त्यतिबेला मन्त्रीज्यूले कालो धुवाँ फाल्ने सवारीसाधनलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर कार्यान्वयन भने शून्य छ,’ उनले भनिन्। नियम बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिले जनता आजित भइसकेको उल्लेख गर्दै उनले पुराना सवारीसाधन विस्थापनमा सरकार उदासीन बनेको आरोप लगाइन्। सरकारले स्रोतसाधन अभावको बहाना बनाउने गरेको भन्दै उनले त्यसलाई स्वीकार गर्न नसकिने बताइन्।
सांसद तामाङले व्यंग्यात्मक शैलीमा सरकारलाई प्रश्न गर्दै भनिन्, ‘हामीलाई देश हाँक्न नयाँ नेता र मन्त्री त चाहिन्छ, तर गाडी चल्ने इन्जिन चाहिँ अझै उही सय वर्ष पुराना थोत्रा नै छन्। यस्तो अवस्थामा जनताले कसरी स्वच्छ हावामा सास फेर्न पाउँछन् ?’ उनले सडकमा गुडिरहेका प्रदूषण फैलाउने पुराना सवारीसाधनको तत्काल व्यवस्थापन गर्न, कडा अनुगमन सञ्चालन गर्न र स्वच्छ हावामा बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरिन्।






About Us
प्रतिक्रिया