काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन शहरी तथा भवन निर्माण आयोजना, धनकुटाका तत्कालीन इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भोजपुर जिल्लास्थित एक विद्यालयको नयाँ भवन निर्माणसँग सम्बन्धित अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउन विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।
अख्तियारका अनुसार सेवाग्राहीसँग घुस रकम मागेको सूचनाका आधारमा खटिएको टोलीले इन्जिनियर राईलाई ललितपुरबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै, आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले लेखा अधिकृत कार्की र सव–इन्जिनियर श्रेष्ठलाई धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको थियो।
अनुसन्धानका क्रममा तीनै जनाले विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानीका क्रममा विभिन्न प्राविधिक समस्या देखाउँदै भुक्तानी प्रक्रिया अघि नबढाई सेवाग्राहीलाई दुःख–हैरानी दिएको अख्तियारले जनाएको छ। आयोगका अनुसार उनीहरूले अन्तिम बिल भुक्तानी गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस मागेका थिए।
उक्त रकममध्ये ५० हजार रुपैयाँ रविन श्रेष्ठको बैंक खातामार्फत दाखिला गर्न लगाइएको र बाँकी ८५ हजार रुपैयाँ सुमन राईले नगद लिएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ। अख्तियारले तीनै जनाले पूर्वयोजनाअनुसार घुस रकम आपसमा बाँडीचुँडी लिने सहमति गरेको समेत आरोप लगाएको छ। उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको दाबी गर्दै अख्तियारले १ लाख ३५ हजार रुपैयाँ बिगो कायम गरी विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।






About Us
प्रतिक्रिया