सरकारी जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने राज श्रेष्ठ प्रहरीको फन्दामा


धनगढी- नेपाली सेना, नेपाल प्रहरी तथा स्टाफ नर्सलगायतका सरकारी पदमा जागिर लगाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नवलपरासीको देवचुली घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्दै आएका राज श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार श्रेष्ठले आफ्नो वास्तविक पहिचान लुकाई मोहन केसीको नाममा नक्कली नागरिकता प्रमाणपत्र लगायतका कागजात तयार गरेको र विभिन्न बैंकमा सोही नाममा खाता खोलेर रकम कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले नेपाली सेना, नेपाल प्रहरी तथा स्टाफ नर्सलगायतका पदमा जागिर लगाइदिने प्रलोभन देखाउँदै ठगी गरेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलाली र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो। उनीविरुद्ध ठगीसम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।