काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्कासन प्रणालीलाई निष्पक्ष, व्यवस्थित तथा विश्वसनीय बनाउने उद्देश्यले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। सेबोनका अनुसार निर्देशिकाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गर्न चाहने सङ्गठित संस्था, पब्लिक सङ्गठित संस्थामा रूपान्तरण भई सार्वजनिक निष्कासन गर्न चाहने सङ्गठित संस्था र प्रचलित कानुन बमोजिम सार्वजनिक निष्कासन गर्न स्वीकृति प्राप्त अन्य संस्थाका लागू लागू हुने व्यवस्था गरिएको छ।
साथै, निर्देशिकामा प्रारम्भिक सार्वजनिक निष्कासन गर्न चाहने सङ्गठित संस्थाका लागि आवश्यक सामान्य तथा वित्तीय योग्यता, संस्थागत सुशासनसम्बन्धी मापदण्ड, संस्थापक शेयरधनी, सञ्चालक तथा व्यवस्थापनको योग्यता, सूचना प्रवाह तथा विवरण पत्र सम्बन्धी व्यवस्था, ड्यु डिलिजेन्स तथा पेसागत उत्तरदायित्व, सार्वजनिक निष्कासनबाट प्राप्त रकमको उपयोग तथा सोको अनुगमन, निष्कासन पछिका दायित्व, अनुपालना तथा नियामकीय अनुगमनका साथै कसुर, दण्ड तथा प्रशासनिक कारबाहीसम्बन्धी व्यवस्थाहरू मस्यौदामा समेटिएको छ।
त्यस्तै, बोर्डबाट सार्वजनिक निष्कासनका लागि योग्य, पारदर्शी तथा दिगो सङ्गठित संस्थाहरूको छनोट सुनिश्चित गर्ने, लगानीकर्ताको हित संरक्षण गर्ने, पुँजी बजारमा निष्पक्ष, व्यवस्थित तथा विश्वसनीय सार्वजनिक निष्कासन प्रणाली विकास गर्ने जस्ता विषयहरू मस्यौदामा समेटिएका छन्। बोर्डका अनुसार विभिन्न उद्योगको प्रकृति अनुरूप जोखिममा आधारित प्रारम्भिक सार्वजनिक निष्कासन योग्यता प्रणाली विकास गर्ने विषय निर्देशिकामा राखिएको छ। सेबोनले निर्देशिकामा प्रस्तावित व्यवस्था उपर कुनै राय, सुझाव वा प्रतिक्रिया भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र बोर्डको इमेल ठेगानामा उपलब्ध अनुरोध समेत गरेको छ।






About Us
प्रतिक्रिया