अवैध भिओआईपी सञ्चालन गरेको आरोपमा भारतका काथराम नितिन पक्राउ


काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२ आँपटारीबाट अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) सञ्चालन गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतका काथराम नितिन रहेका छन् । 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, चितवनको संयुक्त टोलीले नेपाल टेलिकम र एनसेल आजियाटा लिमिटेडको प्राविधिक समन्वयमा उनलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार आँपटारी स्थित निर्मला विष्टको घरमा अवैध रूपमा अन्तर्राष्ट्रिय कल बाइपास (भिओआईपी) सञ्चालन भइरहेको सूचनाका आधारमा टोली परिचालन गरिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा बरामद उपकरण तथा सामग्रीहरू अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेको प्रहरीले जनाएको छ। उनीमाथि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ बमोजिमको कसुरमा अनुसन्धान भइरहेको छ। 

प्रहरीका अनुसार आँपटारीस्थित निर्मला विष्टको घरबाट २६ थान मोबाइल सेट, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान एटीसी सिमकार्ड, ४ थान सिपियु, १ थान इन्भर्टर, २ थान ब्याट्री तथा विभिन्न प्रकारका डेटा केबलहरू बरामद गरेको छ।

उनीमाथि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय, चितवनबाट भइरहेको प्रहरीले जनाएको छ।