क्यापिटल मार्केट डिस्कोर्श

‘नेपाल क्यापिटल मार्केट डिस्कोर्शले पुँजी बजारको नीति र व्यवहारको दूरी घटाउँछ’


काठमाडौं – नेपाल स्टक ब्रोकर एसोसिएसनले पुँजी बजारको दिगो विकास, सुशासन र प्रभावकारी नीति निर्माणमा रचनात्मक योगदान पुर्‍याउने उद्देश्यले विभिन्न छलफल अन्तरक्रिया तथा गोष्ठीहरूको आयोजना गर्दै आएको छ। यस्ता कार्यक्रमहरूबाट निस्किएको निष्कर्षले पुँजी बजारलाई अझ प्रतिस्पर्धी विश्वसनीय तथा लगानीमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। नेपाल क्यापिटल मार्केट डिस्कोर्शले नेपालको पुँजी बजारको वर्तमान अवस्था यसमा निहित समस्या, चुनौतीहरूको बारे जानकारी गराउने छ। साथै, आगामी दिनमा नेपाली पुँजी बजारको बृहत्तर विकासका लागी नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाहरूलाई कार्यदिशा प्रदान गराउने छ।

पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ नेतृत्व प्राप्त गरेपछि नेपालको पुँजी बजारको विकास र आधुनिकीकरण जाने अपेक्षा गरिएको छ। नेपाल क्यापिटल मार्केट डिस्कोर्शले सेबोनले लिएको वर्तमान कार्यदिशालाई थप बलियो  बनाउँदै अघि बढ्न मद्दत गर्नेछ। विश्व अर्थतन्त्रमा पुँजी बजार शेयर किन बेच गर्ने थलो मात्रै नभएर राष्ट्रको आर्थिक रूपान्तरण औद्योगिक विस्तार रोजगारी सिर्जना र दीर्घकालीन आर्थिक समृद्धिको आधार स्तम्भ हो।

साथै, राष्ट्रको विकास सरकारी बजेटमा मात्रै सम्भव हुँदैन। आर्थिक समृद्धि र उन्नतिको लागी आवश्यक पर्ने दीर्घकालीन तथा अल्पकालीन पुँजी संकलन तथा परिचालन गर्ने सबैभन्दा प्रभावकारी मध्यम पुँजी बजार हो। नेपालको पुँजी बजार सुरु भएको ३० वर्ष नाघिसकेको छ। तर पनि नेपालमा पुँजी  बजारको विकास स्थायित्व आधुनिकीकरणको दिशामा पुगेको छैन। नेपालसँगै पुँजी बजारको सुरुवात गरेका अन्य देशको पुँजी बजार माथि उठिसकेको छ। त्यसैले नेपालको पुँजीमा काम गर्न धेरै बाँकी छ।

विशेष गरी नीति, पूर्वाधार, प्रविधि, प्रडक्टमा थुप्रै काम गर्न आवश्यक छ। धितोपत्र ऐन २०६३ लागु भएको २३ वर्ष भइसकेको छ। यस अवधिमा पुँजी प्रविधि, प्रडक्ट पूर्वाधारका क्षेत्रमा र लगानीकर्ताहरूको लगानी गर्ने तरिकामा ठुलो परिवर्तन आइसकेको छ। ती सबै विषयलाई समेटेर बलियो र आधुनिक धितोपत्र बजारको आधार निर्माणका लागि धितोपत्र ऐनमा अहिले कुनै पनि विषय संशोधन हुन सकेका छैनन्।

धितोपत्र बजार सञ्चालनका आएको ३० वर्ष पुग्दा अहिले हामीसँग केवल नियमित कारोबार हुने सुचीकृत कम्पनीका साधारण शेयरहरू मात्र छन्। यस बाहेक नन्न कन्भर्टेबल डिबेन्चर र सामूहिक लगानी कोषहरू छन्। धितोपत्र ऐन संकोचनका कारण बजारमा सहभागीदेखि लिएर नियामक निकाय सहभागी सबैको उदासीनताका कारण अप्सन फ्यूचर जस्ता प्रडक्ट तयार गरी ल्याउन सकिएको छैन। यस बाहेक स्पट कारोबारमा समेत इन्ट्राडे, सर्ट सेल सुविधालाई प्रयोगमा ल्याउन सकिएको छैन। 

पुँजी बजारमा अहिले स्पट कारोबारलाई नै मार्जिन कारोबार सरह २५ प्रतिशत मार्जिन लिई बाँकी रकम दुई दिनभित्र लिई राफसाफ गर्ने जस्तो सुविधा प्रदान गर्दै पुजी बजारलाई विश्वमा नै कतै नभएको बजारको रूपमा अभ्यास गर्दै आइरहेको छ। डिबेन्चर, सामूहिक लगानी योजनाका युनिटहरू र सरकारी ऋणपत्रहरू आजका दिनमा लगानीका औजारहरूका रूपमा देखिएका छन्। इन्डेक्स फण्ड, फरेन करेन्सी, प्रोडक्टहरु, कमोडिटीज क्रिप्टोलगायतका डिजिटल सम्पत्तिहरू समेत ठुलो मात्रामा उपलब्ध भई कारोबार आइसकेका छन्।

नियामक निकाय सेबोनलाई डिजिटल सम्पत्तिहरूतर्फ अग्रसर हुनका लागि कस्ता पूर्वाधार, कानुन, जनशक्ति र लगानीकर्ताहरू आवश्यक हुन्छन्। वर्तमान परिवेशमा नेपालीहरू रोजगारी र अध्ययनको लागी विश्वका हरेक कुनामा पुगेका छन्। नेपाली पुँजी बजारमा भविष्य नदेखेका कारणले पनि उनीहरूले आफू बसेको देशको पुँजी बजारमा लगानीको अवसर खोजिरहेका छन्। यदि सो लगानी रकम नेपालमा भित्रिएको अवस्थामा यसबाट ठुलो राजश्व राज्यले पाउने छ। साथै, थप वैदेशिक मुद्रा नेपाल भित्रने छ। त्यसैले हाम्रा नियामक निकायले यस्ता विषयमा ख्याल गर्दै आगामी दिनमा यसका लागी आवश्यक नियम विनियम प्रविधि तथा पूर्वाधारकाे तयारी गर्न तर्फ ध्यान दिँदै अगाडी बढ्नुपर्छ। नेपाल आर्थिक रूपान्तरणको महत्त्वपूर्ण चरणमा छ। यस्तो अवस्थामा हाम्रो पुँजी बजारलाई पारदर्शी प्रतिस्पर्धी बनाउनु आजको आवश्यकता हो।

बजार प्रति लगानीकर्ताको विश्वास बढाउनु, संस्थागत लगानीकर्तालाई प्रोत्साहन गर्नु, विदेशी लगानी आकर्षित गर्नु तथा आधुनिक वित्तीय उपकरणहरुको विकास गर्नु हाम्रो साझा जिम्मेवारी हो। नेपाल क्यापिटल मार्केट डिस्कोर्शको मुख्य उद्देश्य समस्याको चर्चा गर्नु मात्रै होइन। नीति नियम र व्यवहारबीचको दूरी घटाएर नेपालको पुँजी बजारलाई नयाँ युगतर्फ अगाडी लैजान साझा मार्ग चित्र तयार गर्नु पनि हो।

(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको उद्घाटन सत्रमा नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले राखेको मन्तव्य)