काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सिस्टममा समस्याका बारेमा धेरै चर्चा हुने गरेको छ। नेप्सेको सिस्टममा आउने समस्यालाई हेर्ने हो भने सबैभन्दा पहिले हामीले शेयर बजारको आकारलाई हेर्नुपर्छ। लगानीकर्ताको संख्या हेर्नुपर्छ। डिम्याट खाता संख्या ८० लाख छन्। यसबाट सक्रिय ग्राहक के कति छन् भन्ने हेर्नुपर्छ। ब्रोकर क्षेत्रमा सक्रिय सेवाग्राही करिब चार लाख छन्।
९०/९२ वटा ब्रोकर छन्। यसलाई समान तरिकाले विभाजन गर्ने हो भने एउटा ब्रोकरलाई ४ हजार ४ सय जना ग्राहक पर्न जान्छ। त्यही ४ हजार ग्राहकको लागि हामीले छुट्टै टिएमएस बनाउने कि नबनाउने भन्ने प्रश्न आउँछ। तर, यसले ब्रोकरका लगानीकर्तालाई उनीहरूको ‘रिटर्न’ पाउन भने गाह्रो हुन्छ। त्यसैले हामीले जुन टिएमएस प्लेटफर्म पाइरहेका छौँ, त्यसलाई नै परिष्कृत गर्दै लैजानुपर्छ।
प्रविधि समयअनुसार राम्रो हुँदै, परिष्कृत हुँदै र सुधार हुँदै जाने प्रणाली हो। अहिले धेरै गल्ती जुन औँल्याइएका छन्। त्यसबाट हामीले समस्या भोगेका छौँ। तर, समस्या भयो भन्दैमा ९०/९२ वटा ब्रोकरले आफ्नै टिएमएस बनाउनुपर्छ भन्ने लाइनमा जाँदा त्यसमा गरेको लगानीले उचित प्रतिफल ल्याउन सक्दैन।
यस्तो समयमा नियमनकारी निकायले अनुमति नै दिएर ३४ वटा टिएमएस भेण्डरबाट सञ्चालनमा ल्याउन सकिन्छ। त्यो भेण्डरबाट हामीले एग्रिमेन्ट गरेर हामीले काम गर्न सक्छौँ। त्यसैले यसमा समस्या हुन्छ नै। ब्रोकर कम्पनीलाई हेर्दै गर्दा पनि टप २० पछिका ब्रोकरहरुको कारोबारको अवस्था धेरै नै कम छ। त्यसले गर्दा जुन ब्रोकरको लागि टिएमएस बढी प्रयोग हुन्छ। त्यसलाई प्रिमियम सर्भिस दिएर बाँकीलाई त्यहीअनुसारको सेवा दिन सकिन्छ । प्रयोग हुने दर हेरेर सेवा दिन सकिन्छ।

अर्कोतर्फ नेपालका ब्रोकर कम्पनीहरू किन्ने र बेच्ने काममा मात्रै सीमित भइरहेका छन्। नियामक निकायले राजस्वको स्रोत नै त्यसैलाई मानेको छ। अहिले ब्रोकरलाई ३ भागमा विभाजन गरिएको छ। २० करोड, ६० करोड र डेढ सय करोड चुक्ता पुँजीको आधारमा विभाजन गरिएको छ। पैसाले मात्रै ब्रोकर कम्पनीको वर्गीकरण गर्नु हुँदैन। ब्रोकरलाई कम्पनीले उपलब्ध गराउने सेवा र सुविधाको हिसाबले पनि वर्गीकरण गर्नुपर्छ। ब्रोकरमा सञ्चालक र ब्रोकरको जनशक्तिमा भएको क्षमताको आधारमा पनि वर्गीकरण गर्न सकिन्छ। हामीले ब्रोकरको सम्पत्ति पैसा मात्रै देखिरहेका छौँ।
मूख्य कुरा त संस्थामा भएको जनशक्तिलाई ठुलो सम्पत्तिको रूपमा हेर्नुपर्छ। जनशक्ति र पैसालाई तुलना पनि गर्न मिल्दैन। यसको बाटोमा लाग्ने हो भने लगानी पनि हुन्छ। त्यो लगानी मानिसमा पनि हुन्छ। २० करोडका ब्रोकरको कुरा गर्ने हो भने किन्दा र बेच्दाको कमिसन नै हाम्रो प्रमुख आम्दानीको स्रोत हो। यस्तो हुँदा ब्रोकरको सीईओहरु यसमा मात्रै केन्द्रित हुनुपर्ने स्थिति छ। तर, ब्रोकर यसमा मात्रै सीमित हुनुपर्छ भन्ने होइन।
अधिकांश ब्रोकरहरू २० करोड पुँजी भएका छन्। ब्रोकरलाई पनि बिजनेशको दायरा विस्तार खुल्ला गर्नेबारे सोच्नुपर्ने अवस्था आएको छ। हामीले भारतीय शेयर बजार र भारतीय ब्रोकरको कुरा गर्ने हो भने उनीहरूको राजस्वको स्रोत थुप्रै छन् । ब्रोकरले र ब्रोकरका लगानीकर्ताले आइटीमा, इनोभेसनमा लगानी गर्ने तर त्यो लगानीले ल्याएको आउट कम हामीले बिक्री गर्न पाउने वा नपाउने भन्ने विषयमा प्रस्ट हुनुपर्नेछ।

ब्रोकरले आफ्नो जनशक्ति प्रयोग गरेर एउटा रिसर्च गरेमा त्यसको बिक्री गर्न र आम्दानीलाई आफ्नो आम्दानीमा जोड्न पाउने पाउनेबारे स्पष्ट नीति छैन। त्यसैले आम्दानीको स्रोतहरूको परिभाषित गर्न सकेमा मात्रै ब्रोकरले लगानी गर्न सक्छन्। ब्रोकर शेयर किनबेचको लागि एउटा प्लेटफर्म हो। एउटा प्लेटफर्मले त २० करोड पैसा लिएर बसेको छ। उनीहरूलाई अवसर दिने हो भने धेरै ठाउँमा लगानी गर्न सक्ने अवस्था छ। तर, यहाँ टिएमएसको प्लेटफर्म मात्रै दिइएको छ।
आम्दानीको ‘बाउन्ड्रि’ खोलिदिने हो भने कर्मचारीलाई हामी धेरै भन्दा धेरै तालिमहरूमा सहभागी गराउन सक्छौँ। अहिले कानुन छैन भनेर बस्न मिल्दैन। कानुन नीति र ऐन भनेको संशोधन गर्न मिल्ने विषय हो। यो समय परिस्थितिले माग गर्ने विषय हो। समय परिस्थिति बनिरहेको समयमा ऐन पनि संशोधन हुँदै जानुपर्छ। भोलिका दिनमा ब्रोकरका सीईओ किनबेचमा मात्रै नभई रिसर्च र अन्य विषयमा केन्द्रित हुन समय लाग्दैन।
अहिले एआई तथा डिजिटलको कुरा आइरहेको छ। यसमा ब्रोकरको हिसाबले हेर्दा लगानीकर्ताको डेटाको सुरक्षा अझ महत्त्वपूर्ण हुन्छ । कुनै पनि व्यक्तिको व्यक्तिगत डेटाको सुरक्षाको विषयमा कुनै ठोस नीति नियम आएको छैन। त्यसकारण हामी हाम्रो नियामक निकायले ड्राफ्ट गरेर दिएको नीतिमा नै चल्नुपर्ने हुन्छ। एआईको कुरा गर्दै गर्दा हामी ब्रोकर कम्पनीहरूले एआईलाई धेरै अँगालिसकेका छौँ।

ग्राहकको सहयोगको सेवालाई हामीले एआईमा आधारित गर्न सुरु गरिसकेका छौँ। लगानीको सल्लाहमा एआई प्रयोग गर्न मिल्दैन। ट्रेडिङ एआईलाई गर्न दिने हामीलाई अधिकार छैन त्यो नहुँदा गर्न पाइँदैन। यसमा ब्रोकरले निगरानी गर्न भने सक्छन्।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तनः नेपालको पुँजी बजारको भविष्य’ मा सिटिजन्स शेयर ब्रोकरका सीईओ मनीष अर्यालले राखेको मन्तव्यमा आधारित)






About Us
प्रतिक्रिया