विराटनगर – नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशमा क्रियाशील पत्रकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम बुधबार विराटनगरमा सम्पन्न भएको छ। बीमा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपाय खोज्ने उद्देश्यले आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सचिन राईले प्राधिकरणको परिचय, प्रमुख कार्यक्षेत्र, बीमाका प्रकार, बीमा बजारको अवस्था, बीमा प्रवर्द्धनका लागि भइरहेका प्रयास तथा सञ्चार क्षेत्रसँग प्राधिकरणको अपेक्षाबारे प्रस्तुतीकरण दिए।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जनले बीमासम्बन्धी समाचार तथ्यपरक, आधिकारिक, सन्तुलित र जनहितमुखी हुनुपर्नेमा जोड दिए। बीमासम्बन्धी सही र विश्वसनीय सूचना आम नागरिकसम्म पुर्याउन पत्रकारको महत्वपूर्ण भूमिका रहने उनले बताए। समाचार तयार गर्दा आधिकारिक स्रोतबाट तथ्य पुष्टि गर्ने, तथ्यांकको स्रोत र अवधि स्पष्ट उल्लेख गर्ने तथा दाबी, आरोप, प्रतिक्रिया र वास्तविक तथ्यलाई छुट्टाछुट्टै प्रस्तुत गर्नुपर्ने महर्जनले बताए।
बीमा कम्पनीहरूको नियामक निकायका रूपमा प्राधिकरणले बीमितको हितलाई ध्यान दिएर काम गरिरहेको उनले जानकारी दिए। आवश्यक सम्पूर्ण कागजात पूरा गरी बीमा दाबी भुक्तानीका लागि प्रक्रिया अघि बढाउँदा समस्या नहुने भन्दै उनले कुनै समस्या देखिएमा समाधानका लागि प्राधिकरण तयार रहेको बताए।

बीमा क्षेत्रका समस्या समाधानका लागि प्राधिकरणले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको महर्जनले जानकारी दिए।कार्यक्रममा सहभागी पत्रकारहरूले जीवन तथा निर्जीवन बीमा क्षेत्रमा देखिएका समस्याबारे जानकारी गराउँदै समाधानका उपायसम्बन्धी सुझाव दिएका थिए। बीमासम्बन्धी खोजमूलक पत्रकारितालाई प्रोत्साहन गर्न पत्रकारलाई पुरस्कृत गर्नुपर्ने तथा बीमासम्बन्धी जनचेतनामूलक सूचना पर्याप्त रूपमा सम्प्रेषण गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले बीमा क्षेत्रका विषयमा थप जनचेतना फैलाउन आवश्यक रहेको बताए। त्यसका लागि सञ्चार क्षेत्र सहयोग र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, महासचिव हिमा चेम्जुङ तथा नेपाल बीमा प्राधिकरणका प्रतिनिधिहरूले बीमाको पहुँच विस्तार र प्रभावकारितालगायत विषयमा धारणा राखेका थिए। कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक प्रथम मिलन पोखरेलले गरेका थिए।






About Us
प्रतिक्रिया