काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पुँजी बजारको सुधारका लागि २१ बुँदे ‘एक्सन प्लान’ ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका डा.वाग्लेले नेपालको समग्र पुँजी बजारको दीर्घकालीन सुधार लक्ष्यसहित २१ बुँदे ‘एक्सन प्लान’ ल्याएका हुन्।
सोमबार सार्वजनिक एक्सन प्लानअनुसार अर्थमन्त्री वाग्लेले पहिलो लक्ष्य आईपीओ निष्कासन प्रणालीलाई व्यवस्थित बनाउने लिएका छन्। यसका लागि उनले प्राइस डिस्कभरी प्रणाली लागू गर्न नेपाल धितोपत्र बोर्डलाई निर्देशन नै दिएका छन्। यस्तै, धितोपत्र कम्पनीहरूलाई सुदृढीकरण गरेर अन्तर्राष्ट्रियस्तरको बनाउने, मार्जिन लेन्डिङ्ग, अन्तरदिवसीय कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ जस्ता धितोपत्र उपकरण सञ्चालनको व्यवस्था मिलाउने लक्ष्य राखिएको छ।
यस्तै, नेप्सेको पुनर्संरचना २०८२ पुस २५ को प्रतिवेदनअनुसार गर्ने, कर्पोरेट बन्ड मार्केटको विकास गर्दै बैंकमा आधारित वित्त पोषणबाट बजारमा आधारित वित्त पोषणको प्रवर्द्धन गर्ने लगायतका लक्ष्य राखिएको छ। यसबाहेक, हरित ऋणपत्र, विपद ऋणपत्र, सामाजिक ऋणपत्र, परियोजना विशेष ऋणपत्र, पर्यावरण ऋणपत्र जस्ता विशिष्टीकृत ऋणपत्र जारी गर्ने योजना समेत अर्थमन्त्रीले राखेका छन्।
धितोपत्र सम्बन्धित कसुरको जाँचबुझ तथा अनुसन्धान नेपाल धितोपत्र बोर्डबाटै गर्ने, प्राइभेट कम्पनीले ऋणपत्र जारी गर्न सक्ने लगायत व्यवस्था मिलाउन धितोपत्र सम्बन्धी ऐन २०६३ संशोधन अघि बढाउने तथा बैंक तथा वित्तीय संस्थाहरूले धितोपत्रको दोस्रो बजारमा लगानी गर्ने सम्बन्धमा बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले न्यूनीकरण हुने गरी यस्तो लगानीको आवधिक सीमा कम्तीमा ४५ दिन हुने गरी व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकलाई समेत निर्देशन दिइएको छ।
यी विषयहरू यही भदौ २१ गते काठमाडौंमा भएको ‘नेपाल क्यापिटल मार्केट डिस्कोर्श २०२६’ मा उठेका थिए। नेपालको शेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउन नेपाल धितोपत्र बोर्डलाई स्वात्त बनाउनुपर्ने, धितोपत्र सम्बन्धी अनुसन्धान बोर्डले नै गर्नुपर्ने, बैंकहरुलाई कारोबारको सीमा राख्न नहुने लगायत विषय उठेका थिए।
यसैगरी, २०६३ सालमा बनेको ऐन पुरानो भइसकेकाले त्यसलाई संशोधन गर्नुपर्ने लगायत विषय समेत डिस्कोर्शमा उठान भएका थिए। यिनै विषयहरू अर्थमन्त्री डा. वाग्लेले ल्याएको ‘एक्सन प्लान’को प्राथमिकतामा परेका छन्। यसबाहेक, धितोपत्र दलालहरूलाई सुदृढीकरण गर्नुपर्ने, ऋणपत्रको दायरा बढाउनुपर्ने तथा नेप्सेका पुनर्संरचना लगायत विषय समेत डिस्कोर्शमा छलफल भएको थियो।
डिस्कोर्शमा उद्घाटन सत्रसहित ४ वटा सत्रगत छलफल भएका थिए। डिस्कोर्सको पहिलो सत्रमा ‘प्रडक्ट, पोलिसी एन्ड रेगुलेशन : द फ्यूचर अफ नेपाल्स क्यापिटल मार्केट’, दोस्रो सत्र ‘सचेत लगानीकर्ता, सबल पुँजी बजार : सचेतना र साक्षरताको भूमिका’ मातेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तन : नेपालको पुँजी बजारको भविष्य’ मा छलफल भएका थिए। यसबाहेक नेपाल धिताेपत्र बाेर्ड (सेबाेनका) अध्यक्ष डा. गोपाल भट्ट र सेक्यूरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)का कार्यकारी निर्देशक गोबिन्दायापाली राम मोहन रावसँग विशेष संवाद गरिएकाे थियाे।
(पूर्णपाठ)






About Us
प्रतिक्रिया