हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने युगको अन्त्य हुनुपर्छ : आईजीपी कार्की


काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउँदै सडकमा हात हल्लाएर सवारी साधन नियन्त्रण गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिनुपर्ने बाध्यता हटाउनुपर्नेमा जोड दिएका हुन्।

महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित बनाउन एआई क्षमताका सीसीटीभीलगायतका आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए।

‘सवारी आवागमनलाई सहज बनाउन ट्राफिक प्रहरी सधैँ सडकको बीचमा जोखिमपूर्ण रूपमा उभिएर हात हल्लाउँदै व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रविधिको प्रयोग बढाउनुपर्छ,’ उनले भने।

साथै, एआई–सक्षम सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङ स्टेसन र समग्र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने उनको भनाइ छ।

नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक संरचना निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिँदै उनले ७५३ वटै स्थानीय तहलाई गृह मन्त्रालय, भूमि व्यवस्था मन्त्रालय र सङ्घीय मामिला मन्त्रालयमार्फत समन्वयका लागि पत्राचार भइरहेको बताए।