पब्जी मोबाइल नेपालद्वारा नुवाकोट र रसुवाका बाढी प्रभावितलाई राहत


काठमाडौं –पब्जी मोबाइल नेपालले नुवाकोट र रसुवाका बाढी प्रभावित परिवार तथा समुदायका लागि अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको छ। पब्जी मोबाइल नेपालले खाद्यान्न, कम्बल, सौर्य आपतकालीन बत्ती तथा व्यक्तिगत सरसफाइका सामग्रीलगायत राहत सामग्री उपलब्ध गराएको हो।

उक्त राहत सामग्री गल्छी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। गाउँपालिकाले आवश्यक समन्वय गरी नुवाकोट र रसुवाका बाढी प्रभावित समुदायमा आवश्यकताका आधारमा राहत सामग्री वितरण गर्नेछ। हालैको बाढीका कारण विभिन्न क्षेत्रमा जनजीवन प्रभावित हुनुका साथै घर तथा भौतिक संरचनामा क्षति पुगेको छ। सडक तथा यातायात सेवा प्रभावित हुँदा प्रभावित क्षेत्रमा खाद्यान्न, सुरक्षित बसोबास, सरसफाइका सामग्री तथा बिजुलीलगायत आधारभूत आवश्यकताको अभाव देखिएको छ।

प्रभावित समुदायको तत्कालको आवश्यकतालाई ध्यानमा राख्दै राहत प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री उपलब्ध गराइएको पब्जी मोबाइल नेपालले जनाएको छ। यसैगरी, पब्जी मोबाइल नेपालसँग सहकार्यमा रहेका स्ट्रिमरहरूले सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोडमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबारे आफ्ना समुदायलाई जानकारी गराउँदै इच्छुक व्यक्तिलाई आधिकारिक माध्यमबाट राहत प्रयासमा सहयोग गर्न आग्रह गरिरहेका छन्।

पब्जी मोबाइल नेपालले बाढी प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउँदै राहत तथा सहयोगमा खटिएका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, राहतकर्मी, स्वयंसेवक, सामुदायिक समूह तथा विभिन्न संघसंस्थाको प्रयासप्रति सम्मान व्यक्त गरेको छ।