काठमाडौं – सुपरिवेक्षण विभागमा हुँदा एउटा प्राथमिक शेयर निष्कासन (आईपीओ)को निरीक्षणका क्रममा कमलादी आइपुगेको थिए। सो समयमा कमलादीको चार तले भवनदेखि प्रज्ञा प्रतिष्ठानको मूल ढोकासम्म आईपीओ आवेदनको लाइन थियो। त्यो ठाउँबाट प्रविधिलाई अँगाल्नुपर्छ भनेर सुरु गरेका थियौँ र अहिले एउटै कोठामा बसेर सबै काम गर्न सक्ने अवस्थामा छौँ। यसलाई नजरअन्दाज गर्न मिल्दैन।
वास्तवमा नेपाल धितोपत्र बोर्ड (सेबोन) कत्तिको प्रविधिमैत्री छ भन्ने चासो बढ्दो छ। धितोपत्र सम्बन्धी ऐन २०६३ ले पर्याप्त सुविधायुक्त कारोबार प्रणालीको व्यवस्थाबारे समग्रमा उल्लेख गरेको छ। प्रविधिको विषयमा अन्य देशको अभ्यासबारे पनि मैले रिसर्च गरेको थिए। जसमा प्रायजसो मुलुकहरूमा भएको नीति तथा नियममा प्रोभिजनलाई रेगुलेशन र गाइडलाइन्सको माध्यमबाट समेटेको देखियो। नेपालले पनि धितोपत्र सम्बन्धी ऐन २०६३ ले दिएको अधिकार प्रयोग गरेर धितोपत्र केन्द्रीय निक्षेप नियमावली २०६७ र धितोपत्र बजार सञ्चालन नियमावली २०६४ ले पनि पर्याप्त सुविधा दिएको छ।

धितोपत्र सुचिकरण तथा कारोबार नियामावलीसम्म आइपुग्दा स्वचालित कारोबार प्रणालीको पछिल्लो संशोधन समेत आइसकेको छ। यसलाई दुई वटा पाटोबाट हेर्नुपर्छ। एउटा सेबोनको आन्तरिक प्रविधि तथा सेबोन प्रविधि प्रविधिमैत्री र दोस्रो बजारको प्रविधिमैत्री। यी दुवै पाटोमा हामी सचेत छौँ। केन्द्रीय निक्षेप सेवा नियमावली आउँदै गर्दा सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)को रेगुलेसनअनुसार नै जान सकिने पनि देखिएको थियो। सेबीको रेगुलेसनलाई अध्ययन गर्दा हामी पनि त्यही बाटोमा अघि बढ्न सक्ने अवस्थामा थियौँ।
सेबोनबाट एउटा समूह सेबी गएर हेरेपछि आस्वा प्रणालीलाई लागू गर्न सकिन्छ भन्ने निष्कर्षसहित एउटा निर्देशिका समेत जारी गर्यौँ। निर्देशिका जारीपछि आस्वा प्रणाली लागु भयो। यी उदाहरणलाई हेर्दा पनि सेबोन बजारमा प्रविधि भित्र्याउने सन्दर्भमा अगाडी छ भन्न सकिन्छ। अहिले सेबोनको सिस्टम सेमी अटोमेटेड छ। आन्तरिक फाइल लगायतका कर्मचारी दस्ताबेज सेमि अटोमेटेडको अवस्थामा छन्। अबको दिनमा लाइसेन्सिङलाई पनि अटोमेशनको चरणमा लैजानुपर्ने छ। नयाँ नेतृत्वसँगै सेबोनले क्यापिटल मार्केट ब्लु प्रिन्ट निष्कासन गरेको छ।
जसमा पनि बजारको डिजिटल रूपान्तरणलाई केन्द्रमा राखेका छौँ। तर, हाम्रो सीमित स्रोतका कारण यसको खर्च महँगो पर्न गएको छ। हामीले अहिले एआई बेस्ट मार्केट सर्भलेस भनिरहेको समयमा पनि दातृ निकायहरूको सहयोग लिनुपर्ने अवस्था छ। सिडिएसको सफ्टवेयर पनि भारतसँग नै लिएका हौँ। हामीले स्रोत र प्रविधिको सुनिश्चित गर्न सेबोन कटिबद्ध छ। सेबोनले केही दिनअघि मात्रै सार्वजनिक गरेको ‘प्राइभेट मार्केट पोलिसी’ पनि ल्याएको छ।
जसमा डिजिटल आईपीओको विषयलाई समेत जोडिएको छ। यसका केही कामहरू अघि पनि बढिसकेका छन्। सेन्ट्रल केवाइसीका विषयमा विभिन्न कामहरू सुरु भइसकेका छन्। ब्लु प्रिन्टमा हामीले इन्टिग्रिटेड डिजिटल क्यापिटल मार्केटमा पुग्ने भन्ने हाम्रो लक्ष्य छ । हामी बिचमा कहीँ कतै अल्झियौँ तर, यसैबिच प्राथमिक बजार र दोस्रो बजार काम गरेको छ। सिडिएससीको सिस्टम छिटो र नेप्सेको वेबसाइटमा कम समस्या र टिएमएसमा सबै सुविधाको माग गर्नु सकारात्मक छ। त्यो पाटोमा जान सेबोनको अहिलेको नेतृत्व र सेबोनको पुरै टिम तयारी अवस्थामा नै छ।
सेबोनले केही वर्षअघि सेट अफ सुरु गरेको थियो। तर, विभिन्न किसिमका चुनौतीले त्यसले निरन्तरता पाउन सकेन। त्यसपछि सूचीकृत कम्पनीको सम्पूर्ण तथ्यांक लिनका लागि इआरआरएस भन्ने सिस्टम पनि लेराएको थियौँ। त्यसमा पनि प्राविधिक झन्झटमा पर्न गयौँ। तर, अहिले नेपाल सरकारले पनि भर्खरै सफ्टवेयर निर्माण विकास सम्बन्धमा एउटा समिति गठन गरेर काम गर्न थालिसकेको छ। यस सम्बन्धमा हामीले पनि सरकारसँग समन्वय गरेर हाम्रा कामहरूलाई डिजिटलाइज्ड गर्न सक्छौँ।
सेबीले जसरी एउटै लगइनबाट सबै काम गर्ने गरी त्यो प्राविधिक प्राप्तिमा गर्नुपर्नेछ। यसमा पनि हामीलाई स्रोतको अभाव छ। यता नीति तथा नियममा पनि केही असहजता कायमै छ। यसलाई मिलाउँदै जानुपर्ने छ। हामीले अहिले जति पनि डिजिटललाई सकारात्मक पाटोबाट मात्रै हेरिरहेका छौँ। यसको नकारात्मक पाटोबाट पनि हेरेर अघि बढ्नुपर्छ। यसमा विभिन्न किसिमका जोखिम पनि छन्। कुनै विषयको अनुसन्धानका लागि नेप्से तथा सिडिएससीसँग तथ्यांक लियौ भने त्यसलाई आधिकारिक निकायको स्ट्याम डकुमेन्ट हुनपर्छ भन्ने विषय आउँदा हामीलाई कहीँ न कहीँ उल्झन आएको छ।
सेबोन डिजिटलाइज्ड रोडम्याप भनेर एउटा कमिटी गठन गरेका छौँ। सेबोन कै डिजिटलाइज्डदेखि मार्केटका सहभागीका कामहरू समेत जाने गरी टिमले काम गरिरहेको छ। अहिले सेबोनको जनशक्तिको कुरा गर्दा त्यो समूहमा व्यक्ति कति जना भनेर हेर्न मिल्दैन। किनभने त्यो टिमले गर्ने भनेको नीति तथा कानुन के चाहिन्छ र सिस्टम कहाँसम्म पुग्ने हो भन्ने विषयमा काम गर्छ। हामीसँग तीन जना आइटी इन्जिनियर हुनुहुन्छ। टिम भने ६ जनाको छ। यद्यपि, यही विषय नपढे पनि हाम्रो त्योसँग सम्बन्धित पढेको धेरै जना हुनुहुन्छ । हामीले नीति बनाउने हुनाले पनि डेटा सेन्टर नै बनाएर गर्ने किसिमको मार्केटको पुरै स्टक्चर नभएको हुँदा हाम्रो जुन विकासको लक्ष्य छ त्यसको लागि पर्याप्त समूह छ।

सेबोनले केही अघि हाम्रो आइटीको विज्ञ भनेर सल्लाहकारको रूपमा पनि राखेको थियो। हामीले टेक्नोलोजी ड्रिभन क्यापिटल मार्केट भनेर डकुमेन्टहरूमा राखिरहँदा मार्जिन ल्यान्डिङ, इन्ट्रा डे, सर्ट सेलिङ, एसएलबी र कभर्ट सर्ट सेलिङसम्म पुग्दा कस्तो किसिमको आइटी स्टक्चर आवश्यक हुन्छ भनेर हामीले हाम्रो डकुमेन्टमा प्रस्टसँग राखेका छौँ। डकुमेन्ट सार्वजनिक गर्ने समयमा बजारलाई तयार गर्नुपर्छ। जस्तै, हामीले कन्सेप्ट राखेको स्टक ब्रोकर, स्टक डिलरको मोडलमा मार्जिन ल्यान्डिङ चलाउने भने पनि त्यहाँ कस्तो आइटी स्टक्चर आवश्यक हुन्छ। सिडिएस बेसमा एसएलबी गर्ने भनेपछि कस्तो आइटी स्टक्चर आवश्यक हुन्छ भनेर काम गर्नुपर्ने छ। जसकारण हामीलाई आवश्यक परेको समयमा सल्लाहकारको रूपमा पनि आइटी इन्जिनियर ल्याउन सक्छौँ।
आइजिनको विषयमा विभिन्न प्रश्नहरू आइरहेको छ। यसमा समाधानको बाटोमा नै अघि बढिरहेका छौँ। हामीले आइजिन के हो र प्रिफरेन्स शेयर के हो बुझ्नुपर्छ। अन्नाले आइजिन युनिफर्म गाइडलाइन्स २०२६ जारी गरेको छ। त्यो गाइडलाइन्सले देखाएको दिशाभन्दा बाहिरी दिशामा हामी जान सक्ने अवस्था छैन। त्यो गाइडलाइन्सले फन्जिबल उपकरण भनेर व्याख्या गरेको छ। त्यसलाई वित्तीय उपकरण र नियामयकी मापदण्डअनुसारको लकइन भन्ने जुन छ। त्यसलाई फरक रूपमा बुझ्न सकिन्छ। पब्लिक र प्रमोटर भनेर लकइनका कुरालाई आईजिनसँग जोडिरहेका छौँ। यसले सार्क देशको मार्केट माथि लैजाने विषयलाई यस्ता कुराले समस्या ल्याउँछ।
सुरुवाती चरणदेखिको इक्विटी उपकरणमा विभिन्न धारणा आयो। राष्ट्र बैंकले पनि राम्रो उद्देश्यले कम्तीमा जुन कम्पनी स्थापना गर्ने प्रमोटर छन्। यी विशिष्ट प्रकृतिका हुन् र तिनलाई कम्पनीको जुन उद्देश्य हुन्छ। त्यो उद्देश्य परिपूर्तिका लागि बढी जिम्मेवार हुन्छन् भन्ने हिसाबले वर्गीकरण गरेको हो। तर, हामीले अन्तर्राष्ट्रिय स्तरको अभ्यास हेर्ने हो भने मेजोरोटी र माइनोरोटी शेयर होल्डिङ भन्ने प्याटर्न छ। हामी बिस्तारै त्यता जानुपर्नेछ। राष्ट्र बैंक ऐन संशोधनको विषयमा पनि यस व्यवस्था प्रस्तावित छ। त्यसैले अन्नाको गाइडलाइन्सले देखाएको दिशामा अघि बढ्ने हो।
सेबोन प्रविधिमैत्री बजार बनाउन सधैँ तयार नै छौँ। सेबोनको नयाँ नेतृत्वले पनि प्रविधिलाई जोड दिइरहनुभएको छ। नयाँ अध्यक्ष ज्यू आएपछि पनि डकुमेन्टहरुमा टेक्नोलोजीलाई कसरी विकास गर्ने, सेबोनमा कसरी विकास गर्ने भन्नेमा सोचिरहेका छौँ। सेबोन फाइल बोकेर दौडिने प्रवृत्तिको अन्त्य गर्नुपर्छ भन्नेमा छ। स्थानीय स्तरमा भएको सिस्टम लागू गर्न सेबोन खुल्ला छ। वास्तवमा विनियामावलीमा भएको व्यवस्थाले केही असहजता भएको मात्रै हो।
नेप्सेले स्थानीय रूपमा विकास भएको सफ्टवेयरलाई आफ्नो मापदण्डभित्र रहेर सबै सीमा पार भएर आएका सफ्टवेयरलाई सेबोनले सञ्चालन गर्न कुनै समस्या सिर्जना गर्दैन। विनियामावली संशोधनको प्रस्ताव पनि नेप्सेबाट आउनुपर्छ। हामी त्यसलाई स्विकार्न तयार नै छौँ। हामी सबै एकजुट भएर डिजिटल क्यापिटल मार्केटको बाटोमा अघि बढ्नुपर्छ।
(नेपाल क्यापिटल मार्केट डिस्कोर्शको तेस्रो सत्र ‘प्रविधि तथा नवप्रवर्तन: नेपालको पुँजी बजारको भविष्य’ मा सेबोनका नायब कार्यकारी निर्देशक शर्माले राखेको विचारमा आधारित)






About Us
प्रतिक्रिया