सञ्जीव सुब्बा साउदी अरबको रियादमा हुने ‘मनी २०/२० मिडिल इस्ट’ मा वक्ताका रूपमा सहभागी हुँदै


काठमाडौं – फिनटेक अलाइन्सका संस्थापक अध्यक्ष एवं नेपालका फिन्टेक विज्ञ सञ्जीव सुब्बा वित्तीय प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा महत्वपूर्ण मानिने ‘मनी २०/२० मध्यपूर्व’ सम्मेलनमा नेपाली वित्तीय प्रविधि क्षेत्रका प्रतिनिधि वक्ताका रूपमा सहभागी हुने भएका छन्।

साउदी अरबको रियादमा आगामी १४ देखि १६ सेप्टेम्बर २०२६ सम्म आयोजना हुने सम्मेलनमा सुब्बाले वित्तीय प्रविधि, बैंकिङको डिजिटल रूपान्तरण तथा वित्तीय क्षेत्रमा भइरहेका नयाँ प्रविधिगत परिवर्तनबारे आफ्ना धारणा राख्नेछन्। सम्मेलन रियादको माल्हामस्थित प्रदर्शनी तथा सम्मेलन केन्द्रमा आयोजना हुँदैछ।

‘मनी २०/२० मध्यपूर्व’ विश्वका प्रमुख वित्तीय प्रविधि सम्मेलनमध्ये एक हो। यसको पहिलो संस्करण सन् २०२५ मा रियादमै आयोजना भएको थियो। उक्त सम्मेलनमा ३८ हजार ५०० भन्दा बढी सहभागी, ४५० भन्दा वक्ता, ४५१ प्रदर्शक तथा एक हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रहेको थियो।

यस वर्षको सम्मेलनमा विश्वभरका बैंक तथा वित्तीय संस्था, प्रविधि कम्पनी, लगानीकर्ता, नियामक र वित्तीय प्रविधि उद्यमीहरूको सहभागिता रहनेछ। विश्व वित्तीय प्रविधि महोत्सव २०२६ मा भारतको मुम्बईमा सहभागी भएपछि सुब्बा रियादमा आयोजना हुने ‘मनी २०/२० मध्यपूर्व’ सम्मेलनमा सहभागी हुन लागेका हुन्।

मुम्बईमा आयोजित छलफलमा कृत्रिम बुद्धिमत्तामा आधारित स्व:चालित प्रणाली, बैंकिङ्ग क्षेत्रमा कृत्रिम बुद्धिमत्ताको प्रयोग, निर्णयको व्याख्या तथा जवाफदेहिता, टोकनकरण, ठगी नियन्त्रण, समावेशी ऋण र क्वान्टम प्रविधिबाट उत्पन्न हुन सक्ने साइबर सुरक्षा जोखिमलगायतका विषय प्रमुख रूपमा उठेका थिए।