काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएका चुनौतीहरूको समाधानका लागि निजी क्षेत्रसँगको सहकार्यलाई अझ प्रभावकारी बनाइने बताएका छन्। शुक्रबार सिंहदरबारमा उद्यमी तथा व्यवसायीहरूसँग भएको छलफलमा उनले लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन्।
छलफलमा प्रधानमन्त्री शाहले उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी लिएका थिए। छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाका अनुसार प्रधानमन्त्रीले नेपालमा लगानीको प्राथमिकता स्वदेशी व्यवसायीलाई दिने, त्यसपछि गैरआवासीय नेपाली (एनआरएन) र त्यसपछि मात्रै विदेशी लगानीलाई स्थान दिने धारणा राखेका थिए।
छलफलका क्रममा व्यवसायीहरूले नेपाली उद्यमीहरू ठूला पूर्वाधार आयोजना निर्माण गर्न सक्षम रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक नीतिगत तथा कानुनी सुधार गर्न सरकारसँग आग्रह गरेका थिए। उनीहरूले अर्थतन्त्रमा निजी क्षेत्रको करिब ८० प्रतिशत योगदान रहेको भन्दै व्यवसायीहरूको मनोबल उच्च राख्न राज्यले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए। त्यस्तै, आरोप लाग्नेबित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुनामा राख्ने प्रवृत्तिले निजी क्षेत्रको मनोबल कमजोर बनाएको भन्दै व्यवसायीहरूले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए।
सांसद राणाका अनुसार निजी क्षेत्रका समस्या, कानुनी सुधार र लगानीको वातावरणबारे नियमित समीक्षा गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निजी क्षेत्रबीच प्रत्येक तीन–तीन महिनामा छलफल गर्ने समझदारी बनेको छ। छलफलमा प्रमुख उद्योगी तथा व्यवसायीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाललगायतको सहभागिता रहेको थियो।






About Us
प्रतिक्रिया