काठमाडौं – प्रत्येक जसो विपद र संकटको समयमा ‘फ्रन्टलाइनर’कारुपमा काम गर्ने सशस्त्र प्रहरी रसुवा बाढीमा पनि डट्न पुग्यो। भदौ १० को विनाशकारी बाढीसँगै नेपाली सेना र नेपाल प्रहरीसँगको सहकार्यमा अर्धसैनिक बलले चौर्तफी प्रशंसा पनि पायो। पर्याप्त स्रोत साधन र जनशक्ति नहुँदा पनि संकटमा सँधैको फ्रन्टलाइनरकारुपमा सर्वसाधारणको उद्दारमा काम गर्दै आइरहेको हो।
यही फ्रन्टलाइनरसँग एउटा पनि हेलिकप्टर छैन। सरकारसँग पटक–पटक हेलिकप्टर मागेपनि सशस्त्रले अहिलेसम्म हेलिकप्टर पाउन सकेको छैन। यहीकारण, त्यसैले गर्दा रसुवा बाढीमा उद्धारका लागि सशस्त्र प्रहरीले नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गरिरहेको सशस्त्रका केन्द्रीय प्रवक्ता नेत्र बहादुर कार्की बताउँछन्। हरेक विपत्का घटनामा सबैभन्दा पहिले पुग्ने सशस्त्रका लागि हेलिकप्टर अतिआवश्यक भएको अधिकारीहरु बताउँछन्।

सिमा रक्षादेखि संकटको फ्रन्टलाइनरकारुपमा रहेको सशस्त्रले देशका सबैजसो भू-भागको संकटमा काम गर्नुपर्छ। अधिकांश उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्त विकट छन्। दुर दराजका ठाउँमा हिँडेर जान मात्र सम्भव छैन्। त्यसैले सशस्त्र प्रहरीलाई हेलिकोप्टर आवश्यक छ। सशस्त्र प्रहरी बलका पूर्व प्रहरी अतिरिक्तमहानिरीक्षक नारायणबाबु थापाका अनुसार सशस्त्रले सीमा सुरक्षा मात्र नभई देशका ७७ वटै जिल्लामा विभिन्न जिम्मेवारी निर्वाह गरिरहेको छ।

उत्तरतर्फका किमाथाङ्का, ओलाङचुङगोला लगायतका दुर्गम क्षेत्रमा समेत सशस्त्र प्रहरी परिचालन हुने भएकाले आपत्कालीन अवस्थामा आफ्नै हवाई साधनको आवश्यकता झनै बढी रहेको उनले बताए। त्यस्तै, सशस्त्र प्रहरीसँग आफ्नै हेलिकप्टर नभएको स्वीकार गर्दै प्रवक्ता कार्कीले विपद्का बेला नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरको समन्वयमा उद्धार टोली परिचालन भइरहेको बताए।
उनका अनुसार घटनाको सूचना प्राप्त भएपछि प्रभावित क्षेत्रको नजिक कुन निकायको हवाई क्षमता उपलब्ध छ भन्ने आधारमा उद्धार टोली पठाउने गरिएको छ। उनले भने, ‘रसुवा बढीमा नेपाली सेना नजिक भए सेनाको हेलिकप्टर र निजी हेलिकप्टर उपलब्ध भए निजी हेलिकप्टरबाट टोली परिचालन गरिरहेका छौं।’ सशस्त्र प्रहरीका लागि छुट्टै हेलिकप्टर आवश्यक भए पनि त्यसबारे निर्णय गर्ने अधिकार सरकारसँग रहेको कार्कीले बताए।
स्रोतसाधन थपिँदै जानु र आधुनिक उपकरण उपलब्ध हुनु विपद् व्यवस्थापनका लागि सकारात्मक विषय हो। तर सशस्त्र प्रहरीलाई हेलिकप्टर उपलब्ध गराउने विषय आफूहरूले निर्णय गर्ने नभई सरकारले आवश्यकताका आधारमा निर्णय गर्ने विषय हो। थापा विपद् व्यवस्थापन तथा सुरक्षा कार्यलाई थप प्रभावकारी बनाउन सशस्त्रलाई सरकारले हेलिकप्टर उपलब्ध गराउनुपर्ने बताउँछन्। बैंकिङ्ग समाचारसँगको कुराकानीमा एआईजी थापाले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का बेला उद्धार तथा राहतका लागि हेलिकप्टर अत्यन्तै महत्वपूर्ण हुने बताए।
सशस्त्रले हेलिकप्टर पाएमा विपद् व्यवस्थापनमा मात्र नभई अन्य सुरक्षा तथा सरकारी कार्यमा समेत प्रयोग गर्न सकिन्छ। सिमाको प्रत्यक्ष निगरानीमा समेत यसको भूमिका रहन्छ। सरकारको प्रत्यक्ष निगरानी र सुरक्षा निकायको संस्थागत संरचनाभित्र सञ्चालन हुने भएकाले यसको दुरुपयोग हुने सम्भावना कम रहेको उनको दाबी छ। यहीकारण सरकारले छिटो सशस्त्रलाई हेलिकप्टर उपलब्ध गराउनुपर्ने उनको तर्क छ।
‘गाडी त दुरुपयोग भएको छैन भने हेलिकप्टर किन दुरुपयोग हुन्छ र’ उनले भने, ‘यो राज्यकै सम्पत्ति हुन्छ। सशस्त्र प्रहरी वा नेपाल प्रहरीले प्रयोग गरे पनि त्यो निजी सम्पत्ति होइन, राज्यका फौजले प्रयोग गर्ने राज्यकै सम्पत्ति हो।’ सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई समेत हेलिकप्टर उपलब्ध गराएमा राज्यको हवाई उद्धार तथा सुरक्षा क्षमता थप बलियो हुने उनको भनाइ छ।
साथै, गृहमन्त्री सुधन गुरुङले पनि गत चैतमा सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा विपद्मा परेका नागरिकको तत्कालै उद्धार गर्न दुईवटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका थिए। तर अहिलेसम्म पनि बलले हेलिकप्टर पाएको छैन। पछिल्ला वर्षमा नेपालले विभिन्न ठुला प्राकृतिक विपत्हरु भोग्नु परेको छ। भदौं १० को विनासकारी रसुवा बाढी, २०८० कात्तिक १७ को जाजरकोट भूकम्प, २०७८ को मेलम्ची बाढी, २०७२ वैशाख १२ को ७.८ म्याग्निच्युडको भूकम्प र २०७१ सालमा सिन्धुपाल्चोकको जुरेमा खसेको विशाल पहिरो लगायतका विभिन्न घटनामा सशस्त्र बलले उद्धार तथा राहत वितरण गरेको थियो।
सशस्त्रले रसुवा बाढीपछि अहिले सशस्त्र प्रहरीका ४ हजार २ सयभन्दा बढी उद्धारकर्ता नियमित रूपमा विभिन्न क्षेत्रमा परिचालन भएका छन्। उद्धार कार्यमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाली सेना, नेपाल प्रहरीलगायतका निकायसँग समन्वय गरिरहेको छ। उद्धारमा पहिलो प्राथमिकता जीवित व्यक्तिको खोज तथा उद्धारलाई दिइएको छ। त्यसपछि मृतकको शव संकलन गरी सम्बन्धित निकायलाई बुझाउने काम भइरहेको छ।
उद्धारका लागि सशस्त्र प्रहरीले ड्रोन स्क्वाड, के–नाइन (कुकुर) स्क्वाड, भत्किएका संरचनामा खोज तथा उद्धार गर्ने कोल्याप्स्ड स्ट्रक्चर सर्च एन्ड रेस्क्यु टोली, रोप रेस्क्यु टोली, गोताखोर तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ। विशेषगरी सुरुङ तथा भत्किएका संरचनामा उद्धार गर्न प्रयोग हुने उपकरण सीमित संख्यामा भएकाले एकैपटक धेरै स्थानमा परिचालन गर्न चुनौती भइरहेको छ।






About Us
प्रतिक्रिया