इनड्राइभद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग


काठमाडौं – विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि नेपाल सरकारले सञ्चालन गरिरहेको प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ (करिब ५ लाख अमेरिकी डलर) योगदान गरेको छ।उक्त सहयोग रकम सेप्टेम्बर ९, २०२६ मा इनड्राइभ नेपालका प्रतिनिधिहरूको उपस्थितिमा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।

अगस्ट २६ मा नेपाल–चीन सीमा क्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएकाे छ।विपद्का कारण जनधनको क्षतिसँगै घर, विद्यालय, पुल, जलविद्युत् आयोजना तथा अन्य महत्त्वपूर्ण सार्वजनिक पूर्वाधारमा समेत व्यापक क्षति पुगेको छ। बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्य जारी रहेका छन् भने बेपत्ता व्यक्तिहरूको खोजीसमेत निरन्तर भइरहेको छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरिएको आर्थिक योगदानसँगै इनड्राइभले बाढी प्रभावित समुदायसम्म प्रत्यक्ष राहत पु¥याएको छ। यसअन्तर्गत नुवाकोटको विदुर नगरपालिका वार्ड न–९ का बाढी प्रभावित परिवारलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराइएको छ। प्रत्यक्ष राहत सहयोगअन्तर्गत प्रभावित परिवारको तत्काल आवश्यकतालाई ध्यानमा राख्दै खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको हो। विपद्पछिको कठिन परिस्थितिमा दैनिक जीवन सञ्चालनका लागि आवश्यक आधारभूत सामग्री उपलब्ध गराउँदै प्रभावित परिवारलाई तत्काल राहत पु¥याउनु यस पहलको मुख्य उद्देश्य रहेको थियो।

इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले भने,’नेपालमा आएको विनाशकारी बाढीले धेरै परिवार र समुदायलाई गम्भीर क्षति र कठिन परिस्थितिको सामना गर्न बाध्य बनाएको छ। आफ्ना प्रियजन, घर वा जीविकोपार्जनको आधार गुमाउनुभएका सबैप्रति हामी गहिरो संवेदना व्यक्त गर्दछौँ। नेपाल–इनड्राइभ समुदायको महत्वपूर्ण हिस्सा हो र यस्तो कठिन समयमा हामी नेपाली जनताको साथमा उभिन चाहन्छौँ। हाम्रो यो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म आवश्यक सहयोग पुर्‍याउन तथा प्रभावित समुदायको पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा केही योगदान पु¥याउने विश्वास लिएका छौँ।’

इनड्राइभले भोटेकोशी विपद्मा आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, अझै बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै यस कठिन समयमा उनीहरूसँगै रहेको जनाएको छ। यस सहयोगमार्फत इनड्राइभले तत्काल राहतमा मात्र नभई प्रभावित समुदायलाई सामान्य जनजीवनतर्फ फर्कन सहयोग पुग्ने पुनर्स्थापना तथा पुनर्निर्माणका प्रयासमा समेत योगदान पुर्याउने उद्देश्य राखेको छ।