हाथवे इन्भेष्टमेन्टले चिनी मिल र जलविद्युतमा ४० करोड रुपैयाँ लगानी गर्ने


काठमाडौं – हाथवे इन्भेष्टमेन्ट नेपालले दुई कम्पनीमा कुल ४० करोड रुपैयाँ लगानी गर्ने भएको छ। बुधबार बसेको सञ्चालक समितिको बैठकले दीर्घकालीन लगानी र पोर्टफोलियो विविधीकरणको नीतिअनुसार विजय श्री सुगर मिल्स लिमिटेड र भिजन टेस्ला पावर प्रालिमा लगानी गर्ने निर्णय गरेको हो।

हाथवेले विजय श्री सुगर मिल्समा प्रतिशेयर १०० रुपैयाँका दरले २५ करोड रुपैयाँ बराबरको २५ लाख कित्ता संस्थापक शेयर खरिद गर्नेछ। त्यस्तै, भिजन टेस्ला पावरले प्रवर्द्धन गरिरहेको सङ्खुवासभाको मकालु गाउँपालिकामा निर्माणाधीन २४.९२१ मेगावाटको इन्दुवा खोला जलविद्युत् आयोजनामा १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता संस्थापक शेयर खरिद गर्ने निर्णय भएको छ।

कम्पनीले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन प्रतिफल हासिल गर्ने उद्देश्यले उक्त लगानी गर्न लागेको जनाएको छ।