काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा ग्यासको आपूर्ति सहज र नियमित रहेको जनाउँदै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
विज्ञप्ति जारी गर्दै संघले पछिल्लो समय बाढीपहिराका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध हुँदा बुलेटमार्फत हुने ग्यास ढुवानीमा समस्या आएको स्पष्ट पारेको छ। भोटेकोशी नदीको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा क्षति पुर्याएपछि आपूर्ति व्यवस्थापनमा चुनौती थपिएको संघको भनाइ छ।
सडक अवरुद्ध भएपछि नेपाल आयल निगमको समन्वयमा वैकल्पिक व्यवस्था मिलाइएको छ। काठमाडौँ, काभ्रे र धादिङका ग्यास उद्योगका खाली सिलिन्डरहरू बारा, पर्सा, चितवन, धनुषा र नवलपरासीका उद्योगहरूमा पुर्याएर रिफिल गरी उपत्यकामा आपूर्ति भइरहेको संघले जनाएको छ।
उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग रहने गरेको छ। पछिल्ला तीन दिनदेखि सोही मागअनुसार तराईका जिल्लाहरूबाट सिलिन्डर रिफिल गरी बिक्री-वितरण भइरहेको र आगामी दिनमा पनि आपूर्तिलाई निरन्तरता दिइने संघले स्पष्ट पारेको छ।






About Us
प्रतिक्रिया