आईपीओ निष्काशनको अनुमति माग गर्दै ३ कम्पनीले दिए सेबोनमा आवेदन


काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) मा भदौ महिनामा तीन कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै आवेदन दिएका छन्। नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स लिमिटेड, वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेड र सौर्य कृषि कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि बोर्डमा आवेदन दिएका हुन्।

जसमा उत्पादन तथा प्रशोधन क्षेत्र तर्फको सौर्य कृषि कम्पनीले सर्वसाधारणका लागि २० लाख कित्ता आईपीओ निष्काशन गर्न भदौ १८ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले कुल २० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। यसको निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

वैदिक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले २८ लाख ३५ हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ५ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले अकिंत मूल्य १०० रुपैयाँका दरले २८ करोड ३५ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

त्यसैगरी, नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्स् लिमिटेडले १२ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न भदौ ४ गते सेबोनमा आवेदन दिएको छ। कम्पनीले १०० रुपैयाँ अकिंत मूल्यका कुल १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रस्ताव गरेको हो। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।